‘आज एमसिसी टेबल नभए गठबन्धन टुट्छ’

सत्तारुढ नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी आज बस्ने प्रतिनिधिसभा बैठकमा टेबल गर्ने तयारी गरेको छ । कांग्रेसले आज एमसिसी टेबल गर्न नपाएको खण्डमा गठबन्धनबाट आफूलाई अलग घोषणा पनि गर्न सक्छ ।

‘आज प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल हुन्छ, नभएको खण्डमा गठबन्धन टुट्छ,’ कांग्रेसमा प्रधानमन्त्री तथा सभापति निकट एक नेताले फरकधारलाई भने, ‘यो सन्देश हामीले गठबन्धनका सबै नेताहरुलाई पठाएका पनि छौँ ।’

उनले अहिलेसम्म एमसिसी टेबल गर्ने विषयमा नै फरक मत राख्दै आएको नेकपा एकीकृत समाजवादी पनि एमसिसी टेबल गर्न तयार भएको बताए । ‘यसले गर्दा नेकपा माओवादी केन्द्रलाई पनि दबाब पर्ने निश्चित छ,’ उनले भने, ‘गठबन्धन जोगाउन चाहने हो भने उहाँहरुले एमसिसी टेबल गर्न कुनै अवरोध गराउनु हुँदैन ।’

उनले यसअघि गठबन्धनको बैठकमा पनि प्रधानमन्त्री देउवाले एमसिसी आफूहरुले वाचा गरेको समयमा नै पारित गर्नु पर्ने अडान राखेको बताएका छन् । ‘नेकपा माओवादी केन्द्रले एमसिसी टेबल गरेको खण्डमा आफूहरु गठबन्धनबाट अलग हुने बताएको छ,’ ती नेताले भने, ‘त्यस्तो भएको खण्डमा पनि हामी यसका लागि तयार छौँ । नयाँ गठबन्धनको तयारीहरु त्यसपछि सुरु हुन्छ ।’

आजको प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल गर्ने र अन्य कार्यसूची के राख्ने भन्ने छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । यो बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले सहभागी छैन ।





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार ११:७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया