चालु आवकाे पहिलाे ६ महिनामै बढ्याे विद्युत प्राधिकरणको नाफा

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण (अपरिस्कृत) अनुसार गत आव २०७७/७८ मा ६ अर्ब १८ करोड रुपैयाँ नाफा रहेको थियो ।

चालु आवको पहिलो ६ महिनामै नाफा बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यो सँगै सार्वजनिक संस्थानहरूमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ । आव २०७२/७३ मा आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा छ । गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण, भारततर्फ विद्युत निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत आयातमा कमी, विद्युत बिक्रीमा वृद्धि, अन्य आयमा वृद्धिका कारण चालु आवको ६ महिनामा संस्था उल्लेख्य नाफा आर्जन गर्न सफल भएको बताए ।

उनले भने, ‘सञ्चालन खर्चमा कटौती, प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम, ४५६ मेगावाटको माथिल्लो तामाकोसीसँगको विद्युत खरिद दर अन्य निजी क्षेत्रका आयोजनाको तुलनामा केही सस्तो हुनु पनि नाफा बढ्नुको कारण हो ।’

‘पुसबाट लागू हुने गरी उपभोक्ता महसुल समायोजन भएको छ । यसबाट चालु आवको बाँकी अवधिमा आम्दानी केही घट्ने हुँदा नाफामा प्रभाव पर्न सक्छ, तर चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासनलाई कडाइ गरी नाफालाई १५ अर्ब कटाउने गरी काम गरिरहेका छौँ’, घिसिङले थपे ।  

प्राधिकरणले चालु आवको ६ महिनामा ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ भने ३५ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमश: विद्युत बिक्री र खरिदमा हुने गरेको छ । 



प्राधिकरणको विदेशी दातृ निकायहरूको दीर्घकालीन ऋण एक खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । नेपाल सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोडको रहेको छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपैयाँ छ ।

प्राधिकरणको पुँजीकृत सम्पत्ति एक खर्व ६५ अर्व, पुँजीकृत हुन बाँकी सम्पत्ति एक खर्व ५२ अर्व, सहायक कम्पनीहरूमा लगानी ३५ अर्व ३४ करोड र ऋण लगानी ३२ अर्व ५० करोड रहेको छ । तरल पुँजी ८५ अर्व एक करोड रहेको छ ।



विद्युत निर्यात बढ्यो, आयात घट्यो

अघिल्लो वर्षहरूको तुलनामा चालु आवको ६ महिनामा नेपालमा खपत भएर बढी रहेको विद्युत भारततर्फ निर्यात बढेको छ भने अपुग विद्युतको आयातको परिमाण घटेको छ ।

गत आवमा ३१ करोड ६० लाख रुपैयाँको विद्युत भारत निर्यात भएकोमा चालु आवको ६ महिनामै ८० करोड ५० लाख रुपैयाँको विद्युत निर्यात गरिएको छ । 

ऊर्जाका आधारमा गत आवमा चार करोड ४० लाख युनिट निर्यात भएकोमा यस वर्ष ६ महिनामै बढेर १७ करोड ३० लाख युनिट पुगेको छ ।

आव २०७६/७७ मा १३ अर्ब ४२ करोड रुपैयाँको विद्युत आयात भएकोमा गत आवमा बढेर २१ अर्ब ८२ करोड रुपैयाँ पुगेको थियो । तर, चालू आवको ६ महिनामा दुई अर्ब ५८ करोड रुपैयाँको मात्र विद्युत आयात भएको छ । 

माघ, फागुनमा आयात केही बढ्ने भए पनि यस वर्ष १० अर्ब रुपैयाँभन्दा बढीको आयात नहुने देखिएको कार्यकारी निर्देशक घिसिङले बताए । 

यस वर्ष अघिल्लो वर्षको तुलनामा करिब दुई सय मेगावाट विद्युत माग बढेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित करिब ६६० मेगावाट विद्युत प्रणालीमा थपिएको छ । 

विद्युत चुहावट १४.४५ प्रतिशतमा झर्‍याे

चालु आवको ६ महिनामा विद्युत चुहावट १४.४५ प्रतिशतमा झरेको छ । नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालु आवको ६ महिनामा २.७३ प्रतिशत बिन्दुले घटाएर १४.४५ प्रतिशतमा सीमित गर्न सफल भएको छ । 

विद्युत प्रसारण र वितरणतर्फसहित चालु आवको ६ महिनामा चुहावट १४.४५ प्रतिशतमा झरेको हो । प्रणाालीमा हुने चुहावटमध्ये सबैभन्दा बढी हिस्सा वितरणतर्फको हुन्छ । यस अवधिमा वितरणतर्फको चुहावट ९.२३ प्रतिशत छ । प्राधिकरणले चालु आवमा विद्युत चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । 

चुहावट घटेकाले आम्दानी बढ्दा त्यसको परिणामस्वरूप प्राधिकरणको नाफा बढेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । 

घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारी रूपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको उनले उल्लेख गरे । 

प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, मिटर रिसिलिङ गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइरहेको छ । 

  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १२:३९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया