संघीय संसद भवनको शंकर हलमा जारी छ, कार्यव्यवस्था परामर्श समितिको बैठक । आजका लागि बोलाइएको संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले परामर्श समितिको बैठक बोलाएका हुन् ।
सत्ता गठबन्धनले आजै संसदमा एमसिसी टेबल गर्ने सहमति गरेको छ । सत्तारूढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी पनि संसदमा एमसिसी टेबल गर्न सकारात्मक भएपछि एमसिसी टेबल हुने भएको हो ।
तर, सभामुख सापकोटाले भने एमसिसी मात्र सदनमा टेबुल नगर्ने अडान लिएका छन् । माओवादी निकट स्रोतका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा बैठक अवरोधकाबीच एमसिसीमात्र सदनमा टेबल गर्न नहुने तर्क राखेका हुन् ।
यसअघि आजै बसेको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी सदनभन्दा अगाडि संसदीय समितिमा लैजाने फरक प्रस्ताव राखेका थिए । तर, प्रचण्डको प्रस्तावलाई बेवास्ता गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी संसदमै टेबुल गर्नुपर्ने बताएका थिए ।
माओवादी निकट स्रोतका अनुसार आजको बैठकमा पनि सभामुख सापकोटाले एमसिसीमात्रै टेबल नगर्ने अडान लिएका हुन् ।
‘हेरौं आज पनि एमसिसी टेबल हुनबाट रोकिन सक्छ । यो नरोकिए अरू विधेयक पनि सँगै जान्छन्’, माओवादी स्रोतले भन्यो, ‘अवरोध कायम भएकाले सबै विद्येयक एकैपटक समितिमा लैजाने हुनसक्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।