एमालेले नाराबाजी गरिरहँदा भीम रावललाई सभामुखले बोल्न समय दिएपछि...

आइतबार बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ एमाले सांसदहरु पूर्ववत् अवस्थामा वेल घेराउका लागि पुगे । उनीहरुले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसदमा विरोध सुरु गरे । नाराबाजी भइरह्यो ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले माओवादी नेता देव गुरुङलाई बोल्नका लागि छ मिनेटको समय दिए ।

प्रतिनिधिसभा सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नै माओवादीका ३ नेताले लिखित असहमति जनाइसकेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमसिसी परियोजना टेबल गर्ने सहमति गरेपछि परामर्श समितिको बैठकमा उनीहरुले लिखित असहमति दर्ज गरेका थिए ।

गुरुङले कार्यव्यवस्था समितिमा पनि सोही कुराको जानकारी गराएको भन्दै आफ्नो पार्टी एमसिसीको पक्षमा नरहेको भन्दै ‘फेस सेभिङ’ गर्न भ्याए ।

त्यसपछि सभामुख सापकोटाले एमाले नेता भीमबहादुर रावललाई बोल्नका लागि समय दिए । रावलले एमसिसी राष्ट्रको पक्षमा नभएको भन्दै विरोध जनाए । उनले संसदको कुर्सीबाट उठेर आफ्नो धारणा राखिरहँदा उनले प्रतिनिधित्व गरेको पार्टी भने वेल घेराउ गरेर नाराबाजी गर्दै थियो ।



रावलले आफ्ना कुराहरु राखे र एमसिसी सम्झौता खारेजीको माग गरे । त्यसको केहीबेरपछि सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता टेबल गरे ।

उनले सम्झौता टेबल गरिरहँदा पनि एमालेका सांसदहरु वेल घेराउ र नाराबाजी गरिरहेका थिए । तर, सांसद रावल भने आफू बसेको ठाउँबाट उभिएर विरोध गर्न थाले ।



सभामुखको भूमिका र आफ्ना १४ जना सांसदको कारबाही सूची टाँस नगरेसम्म आफूहरु संसदीय कामकारबाहीमा सहभागी नहुने स्पष्ट बताइसकेको छ, एमालेले ।

फागुन १२ गतेका लागि बोलाइएको बैठकमा पनि आफ्नो सोही प्रदर्शन जारी रहने प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । तर, रावलले भने आजै संसदीय व्यवस्थामा प्रवेश गरेको भन्दै एमालेभित्र उनीमाथि असन्तुष्टि बढेको छ ।

...अनि भेटियो सभामुखलाई

खासमा रावलले सभामुखसमक्ष बोल्नका लागि समय मागेको कुरा एमाले सांसदहरुलाई नै थाहा थिएन ।

प्रतिनिधिसभाको नवौं अधिवेशनबाट निरन्तर अवरोध गर्दै आएको एमालेले एमसिसीबारे आफ्नो धारणा संसदमा राख्ने कुनै तयारी गरेको पनि थिएन । तर, पार्टीमा आफ्नो असन्तुष्टि राखिरहने रावलले भने बोले ।

संसद बैठक सकिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफ्ना मागहरु सम्बोधन नभई कुनैपनि संसदीय काम कारबाहीमा भाग नलिने स्पष्ट पारे, भट्टराईले । ‘हाम्रा मागहरुमा कुनै न कुनै समाधान नगरी हामी कुनैपनि कामकारबाहीमा भाग लिदैनौँ’ उनले भनेका थिए ।

तपाईंको पार्टीका सांसदले नै सभामुखसँग समय लिएर बस्नुभयो, अब पनि प्रक्रियामा सहभागी हुनुभएन र ? भन्ने सञ्चारकर्मीको प्रश्न भट्टराईमाथि तेर्सियो ।

उनले त्यसको जवाफमा भनेका छन्, ‘हामीले त्यसमा आपत्ति जनाएका छौं । हामीले सभामुखसमक्ष नेकपा एमालेको तर्फबाट निर्वाचित सांसदहरुलाई दलीय सहमतिका आधार नभई, अनुमति बेगर बोल्न दिने कुरा दलीय व्यवस्था वेगर काम गर्नुभएको छ ।’

भट्टराईले आफूले गएर सभामुखलाई भेटेर आग्रह गरेको सुनाउँदै भनेका छन्, ‘हुन त तपाईं(सभामुख)ले यसअघि पनि गर्नुभएको छ । तर आज पनि गर्नुभयो । भनेर मैले आफैंले भेटेर आपत्ति व्यक्त गरेँ । उहाँले म यसलाई गम्भीरतापूर्वक लिन्छु । मेरो ध्यानाकर्षण भएको छ भन्नुभयो ।’

एमालेले यसअघि देखि नै सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ । आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदको सूची सार्वजनिक गर्नुपर्ने र सभामुखको राजीनामा माग गर्नुपर्ने एमालेको माग छ ।

‘एमसिसी सडकमा द्वन्द्व सिर्जना गरेर, हिंसा निम्त्याएर मात्रै, पेचिलो लडाईं सिर्जना गरेर मात्रै विलम्ब गरेर ल्याइयो । नाटक के देखियो भने,  सरकारमा पनि बस्ने, संसदमा पनि उपस्थित हुने, कोही बस्ने, कोही उभिने, कोही नारा लगाउने, कोही मुसुमुसु हाँसिरहने । त्यस्तो नाटक पनि देखिएको छ । सडकमा एउटा, अमेरिकासँग एउटा, कार्यकर्तासाग एउटा, बडा राम्रो रोचक दृश्य तपाईंहरु देखिरहनुभएको छ’ बैठकपछि भट्टराईले भनेका छन् ।

उनले अघि भनेका छन्, ‘नेकपा एमाले अहिलेको सभामुखको अन्याय, अत्याचार र विभोदका कारणले लामो समयदेखि संसदीय कामकारबाहीमा विमुख भएर बसेको छ । त्यो हाम्रो बाध्यता भएको छ । हामीप्रति भएको अन्यायका कारणले गर्दा हामीले त्यसलाई प्रतिवाद गर्नका लागि हामी एउटा वेल घेराउ र नाराबाजीमा छौं । कुनै पनि संसदीय कामकारबाहीमा नेकपा एमालेलाई संलग्न हुने अवसर प्रदान गरिएको छैन् । त्यसकारण यो कुनै प्रक्रियामा हामी सामेल हुँदैनौं । नेकपा एमाले सिधासिधी यसको विरोध गर्न चाहन्छौं । नेकपा एमाले शान्तिपूर्ण व्यवस्थापनको पक्षमा छौं ।’

  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १७:२५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया