साथीहरुसँग मिलेर श्रीमतीको हत्या, प्रहरीले सार्वजनिक गर्‍यो हत्यारा

महोत्तरीको सागरनाथ जंगलभित्र मृत अवस्थामा फेला परेकी महिलाको हत्या गरी फालिएको पाइएको छ । हत्यामा संग्लन भएको आरोपमा मृतकका श्रीमान् अजय महतो कोइरी र उनका सहयोगी प्रमोद राउतलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

५ दिनअघि गौशाला नगरपालिका वडा नं. १२ कान्तिबजार जाने बाटोमा रेल्वे लिकभन्दा ५ सय मिटर अगाडि पहिचान खुल्न नसकेकी मृत महिला भारतको सितामाढीकी राधा भनिने अपसना खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

कसरी हत्या भयो ?

मृतक राधा भनिने अपसना खातुन सर्लाहीमा ज्याला मजदुरी गर्ने गर्थिन् । यसैक्रममा दुई वर्षअगाडि पेटी ठेक्कापट्टा गर्ने अजय तिवारीसँग भेट भयो । अजय र राधाको नजिकपना बढ्दै गएपछि उनीहरुको सम्बन्ध प्रेमसम्बन्धमा रुपान्तरण भयो । उनीहरुले प्रेमसमबन्धलाई दुई वर्षअगाडि मात्र विवाहमा परिणत गराएका थिए ।

राधाको अजयसँग दोस्रो बिहे हो । उनका पहिलो श्रीमानको घर भारतको उत्तर प्रदेशमा हो । दुई वर्षअगाडि नै राधाको पहिलो श्रीमानसँग सम्बन्ध बिग्रिएपछि उनी तनावमा थिइन् । सोही समयमा अजयसँगको भेट भएको थियो । 

पहिलो श्रीमानबाट राधाका दुई छोरा छन् । दुई छोराहरुको पालनपोषणको सर्तमा हत्या आरोपित दोस्रा श्रीमान अजय साहले दुई वर्षअगाडि विवाह गरे । नेपालमा बसेर काम गरे पनि अजय र मृतक राधाको माइती भारतको सितामाढी नै हो ।



अजयले प्रहरीलाई दिएको बयानअनुसार राधाले अजयलाई उनको घर भारतको बिहार प्रदेशस्थित सितामाढी लैजान निकै कर गरिन् । अजयले राधालाई घर लिएर गए । तर, उनीहरुको सम्बन्धलाई परिवार र समाजले स्वीकार गरेन । त्यसपछि उनीहरु पुनः सर्लाही नै फर्किए ।

सर्लाहीस्थित मलंगवामा कोठा भाडामा लिएर बसेका उनीहरुको दैनिक जेनतेन चलिरहेको थियो। राधाले श्रीमान् अजयलाई कोट म्यारिज गर्न र अधिकार दिन दबाब दिइन् । अजयले प्रहरीलाई दिएको बयानअनुसार आर्थिक कारोबारमा समेत राधाले बिस्तारै अजयलाई तनाब दिन थालिन् । 



तुरुन्त अधिकार नदिलाए जबर्जस्ती करणीको मुद्दामा फसाउने समेत धम्की दिएपछि अजयले तनाव झेल्न नसकेर हत्या गरेको बयान दिएका छन् । 

कसरी भयो हत्याको योजना  ?

अजयका अनुसार ७ महिनाको गर्भवतीसमेत रहेकी राधाले निकै तनाव दिएपछि उनले उक्त पीडा आफ्ना साथीभाइलाई पनि भने । साथीभाइकै योजनामा अजयले भित्रभित्रै राधालाई जीवनबाट नै पन्छाउने योजना बुन्दै गए । 

लामो छलफलपछि अजयका साथी प्रमोद राउत र सँगै काम गर्ने एकजनाले हत्याको योजना बताए । प्रमोदले महोत्तरीको सागरनाथ जंगलमा लैजाने र त्यही हत्या गर्ने सुझाएपछि अजय र उनका सहयोगी पनि तयार भए ।

२ फाल्गुनमा मेला हेर्न महोत्तरीको गौशालामा जाने भनेर सुनाएपछि राधा पनि निकै खुसी भइन् । श्रीमान् अजय महतोले पहिलो आफूसँग विवाह गरे आउनुअघिका २ छोराहरुलाई पनि सँगै लिएर गए । साथमा प्रमोद राउत र अजयका अर्का एकजना सहयोगी पुरुष पछि–पछि थिए । 

उनीहरुले महिलालाई सागरनाथ जंगलको रेल्वे ट्र्याकमा लगेर सलले घाटीमा तीन फन्को बाँधे । दुवैजनाले राधालाई समाएर कन्चट र छातीमा लात्ता हाने ।  त्यसपछि पेटमा लाताले हानेर हत्या गरेपछि उनीहरुले रेल्वे ट्र्याकवाट २ सय मिटर अगाडि ल्याएर शव छाडेर भागे ।

अभियुक्त कसरी पक्राउ परे ?

महिलाको घाँटीमा निलडाम र शरीरका विभिन्न भागहरुमा चोटपटक देखेपछि प्रहरी घटनाको अवस्था हेर्दै हत्या नै भएको निष्कर्षमा पुगेको थियो ।

अझ २ फाल्गुनमा बेवारिसे अवस्थामा गौशालामा नै फेला परेका दुई बच्चा प्रहरीलाई अनुसन्धान गर्न निकै सहज बन्यो । दुई बच्चामध्ये एउटा बच्चालाई बुवाको नाम सोधपुछ गर्दा अजय बताएपछि प्रहरीले त्यसलाई पनि आधार बनायो ।

प्रारम्भिक अनुसन्धानमा आएका हरेक प्रमाणलाई आधार बनाएर महोत्तरीको प्रहरी मात्र होइन सर्लाही र भारतमा समेत प्रहरीले निगरानी बढायो ।

इलाका प्रहरी गौशाला, जिल्लाको अनुसन्धान विभाग र प्रदेशका प्रहरीले घटनालाई सूक्ष्म अध्ययन गरेपछि प्रहरीको आशंका श्रीमानतर्फ मोडियो ।

त्यस्को ५ दिनपछि भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले हत्याको आरोपित अजय महतो र प्रमोद राउतलाई भारतको सितामाढीबाट पक्राउ गरेको छ भने हत्यामा संलग्न एकजना अझै फरार छन् । 

मंगलबार बेलुका महोत्तरीको गौशाला–११ स्थित सागरनाथ जंगलनजिकैको पसलमा बेवारिसे अवस्थामा फेला परेका २ जना बालक मृतक महिलाको नै भएको पुष्टि भएको छ ।

उनीहरु महिलाको पहिलो पतिबाट जन्मिएका र उनीहरुलाई अभिभावकको जिम्मा लागाउने प्रहरीले तयारी गरेको छ । उनीहरुलाइ महिलासँगै ल्याएको भए पनि हत्या गर्ने योजना नभएको हत्या आरोपित अजय साहले प्रहरीको बयानमा भनेका छन् । 

अहिले बच्चाहरु स्थानीय दिनेश महतोको आश्रयमा छन् ।

  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार २०:४८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया