वेस्ट इण्डिजविरुद्धको टी–२० क्रिकेट सिरिज पनि भारतले क्लिन स्विप गरेको छ । गएराति भएको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इण्डिजलाई १७ रनले हराउँदै भारतले सिरिज ३–० ले क्लिन स्विप गरेको हो ।
वेस्ट इण्डिजले भने यसपालिको भारत भ्रमणमा दुवै सिरिज गुमाउन पुग्यो । उसले टी–२० अघि एकदिवसीय सिरिज पनि ३–० ले गुमाएको थियो । टी-२० श्रृंखलाको तेस्रो खेलमा भारतले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।
उसका लागि विकेटकीपर निकोलस पूरनले ४७ बलमा आठ चौका र एक छक्काको मद्दतमा ६१ रनको पारी खेले । रोमारियो सेफर्डले २९, रोभम्यान पावेलले २५ र रोस्टन चेसले १२ रनको योगदान दिए । बाँकी ब्याटरको प्रदर्शन सम्झनलायक रहन सकेन ।
भारतका हर्षल पटेलले तीन, शार्दुल ठाकुर, बैंकटेश अय्यर र दीपक चाहरले दुई/दुई विकेट लिए । त्यसअघि कोलकातास्थित इडेन कार्डेन मैदानमा टस हारेर ब्याटिङको मौका पाएको घरेलु टोली भारतले निर्धारित २० ओभरमा ५ विकेट १८४ गुमाएर रन बनायो ।
उसका लागि सूर्यकुमार यादवले शानदार पारी खेले । उनले ३१ बलमा एक चौका र सात छक्काको मद्दतमा ६५ रन बनाए । त्यस्तै, बैंकटेश अय्यरले १९ बलमा चार चौका र दुई छक्काको सहयोगमा अविजित ३५ रनको योगदान दिए ।
त्यस्तै, इशान किशन ३४, श्रेयस अय्यर २५, कप्तान रोहित शर्मा सात र ऋतुराज गायकवाड चार रनमा आउट भए । वेस्ट इण्डिजका जेसन होल्डर, रोस्टन चेस, हेडेन वाल्श, रोमारियो सेफर्ड र डोमिनिक ड्रेक्सले एक/एक विकेट हात पारे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।