मतदाता परिचय पत्र हराएकाले २० फागुनसम्म निवेदन दिनसक्ने

मतदाता परिचयपत्र हराएको नागरिकले २० फागुनभित्र निवेदन दिनसक्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालय लमजुङमा आएर निवेदन दिन सक्ने कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख, जिल्ला निर्वाचन अधिकारी सृजना मिश्रका अनुसार परिचयपत्र हराएमा, च्यातिएमा वा नष्ट भएको हकमा कार्यालय आएर निवेदन दिन सकिनेछ । कार्यालयमा आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता, मतदाता परिचयपत्रमा उल्लेख भएको नम्बर ल्याउनुपर्नेछ । 

मतदाता परिचयपत्र नबुझिने गरी च्यातिएको भए सोही परिचयपत्र पनि ल्याउनुपर्ने कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाका सक्रिय राजनीतिक दल, सरोकारवालालाई उक्त जानकारी गराइसकेको छ । 

अब चार नगरपालिका र चार गाउँपालिकामार्फत नागरिकलाई जानकारी गराइने सूचना अधिकारी जिबाखर शर्माले बताए । उनले भने, ‘मतदान गर्ने अधिकारबाट बञ्चित हुन नपरोस् भनेर २० फागुनसम्म उक्त व्यवस्था गरिएको हो ।’

कार्यालयका अनुसार लमजुङमा ११ महिनामा नौ हजार ६ सय ६० नयाँ मतदाता दर्ता भएका छन् । ०७७ चैतदेखि ०७८ को २४ माघसम्म उक्त संख्यामा मतदाता थपिएका हुन् । महिला मतदाता दर्ता चार हजार ३२ र पुरुष मतदाता दर्ता पाँच हजार ६ सय २८ रहेका छन् । 

बाहिरी जिल्लाका एक सय एक मतदाता दर्ता भएका छन् । महिला २५ जना र पुरुष मतदाता ७६ जनाको दर्ता भएको कार्यालयले जनाएको छ ।



जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा भइरहेको मतदाता नामावली दर्ता कार्य स्थानीय तह निर्वाचन घोषणासँगै निर्वाचन आयोगको निर्देशनअनुसार स्थगन गरिएको छ । १६ वर्ष उमेर पूरा भएपछि मतदाता दर्ता गर्न सकिने छ । 

१८ वर्ष उमेर पूरा भएकाले मतदान गर्न सकिने व्यवस्था छ । ३० वैशाख ०७९ मा सम्पन्न हुने स्थानीय निर्वाचनमा २४ माघ ०७८ भित्र मतदाता नामावलीमा नाम दर्ता गर्नेले मत हाल्न पाउने छन् । 



  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार ९:५६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया