नेपाल भर्सेस क्यानडा : ‘प्लेयर्स टु वाच’

ओमानमा जारी आइसिसी टि-२० विश्वकप ग्लोबल छनोटमा आज नेपालले क्यानडाको सामना गर्दैछ ।  खेल अपरान्ह पौने चार बजेदेखि ओमानकाे अल अमरेत क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

आजको खेलले नै सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ । समूह ‘बी’मा रहेको नेपालले यसअघिको दुई खेलमा लगातार जित हात पारेको छ । पहिलोमा ओमानलाई ३९ र दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले हराउँदै नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ ।

क्यानडालाई हराए नेपालले समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाउने छ । झिनो अन्तरले पराजित भएमा पनि नेपालले सेमिफाइनलको यात्रा गर्ने पक्का जस्तै छ । क्यानडाले भने सेमिफाइनलमा स्थान बनाउन नेपाललाई फराकिलो अन्तरले हराउनुपर्नेछ ।

साथै, उसले ओमान र फिलिपिन्सबीचको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ । पहिलो खेलमा फिलिपिन्सलाई ११८ रनले हराएको क्यानडाले दोस्रो खेलमा भने ओमानसँग ९ विकेटको पराजय बेहोरेको थियो । 

समूहको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्ने मौका पाउने छन् । सेमिफाइनल जित्ने दुई टोलीले यही वर्ष अस्ट्रेलियामा हुने विश्वकपमा सहभागिता जनाउनेछन् ।

नेपाल र क्यानडबीचको खेलमा केही यस्तो खेलाडी पनि छन् जसले एकल प्रयासमा खेलको स्वरूप बदल्न सक्छन् । 



‘प्लेयर्स टु वाच’

म्याथ्यु स्पोर्स (क्यानडा)



युवा ओपनर म्याथ्यु स्पोर्सले जारी प्रतियोगितामा फिलिपिन्सविरुद्ध क्यानडाबाट डेब्यू गर्दै १०८ रनको शतकीय पारी खेलेका थिए । उनी टि-२० अन्तर्राष्ट्रिमा डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । 

उनी अस्ट्रेलियन यू-१९ क्रिकेट टोलीको सदस्य रहिसकेका छन् । अस्ट्रेलिया दोस्रो डिभिजनमा उनले वेस्टर्न अस्ट्रेलियाबाट खेलेका थिए ।

छनोटका दुई खेलमा ११९ रन बनाएका उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । फिलिपिन्सविरुद्ध शतक प्रहार गरेका स्पोर्सले ओमानविरुद्ध भने ११ रन मात्र बनाएका थिए ।

यदि उनी लामो समय क्रिजमा टिकेको खण्डमा नेपालका लागि घातक बन्न सक्छन् । स्पोर्सले दुई खेलमा ७९ बलको सामना गर्दा १६ चौका र तीन छक्का प्रहार गरेका छन् ।

रायन पठान (क्यानडा)

ओपनर रायन पठान क्यानडाका प्रमुख खेलाडी हुन् । पठानले पछिल्लो समय लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । 

वेस्ट इन्डिज मूलका पठान आक्रामक ब्याटिङका साथै मध्यगतिमा पार्टटाइम बलिङ पनि गर्छन् । उनले क्यानडाका लागि मात्र आठ टि-२० अन्तर्राष्ट्रियमा एक शतक र तीन अर्धशतकसहित ४११ रन बनाएका छन् ।

उनले पावर प्लेमा आक्रामक ब्याटिङ गर्ने गर्दछन् । गत असोजमा एभरेस्ट प्रिमियर लिगमा विराटनगर किंग्सबाट खेलिसकेको हुँदा रायन नेपाली बलरका बारेमा राम्रोसँग जानकार छन् । त्यसैले पनि उनी नेपालका लागि घातक बन्न सक्छन् । 

प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा चौथो स्थानमा रहेका उनले दुई खेलमा ९९ रन बनाएका छन् । फिलिपिन्सविरुद्ध ७३ रन बनाएका पठानले ओमानविरुद्ध २६ रन जोडे । ५८ बलको सामना गर्दै उनले १३ चौका र दुई छक्का प्रहार गरेका छन् ।

कुशल भुर्तेल (नेपाल)

नेपाली युवा ओपनर कुशल भुर्तेल पछिल्लो समय राम्रो लयमा देखिएका छन् । उनले नेपालका लागि आठ टि-२० अन्तर्राष्ट्रिय खेल खेल्दा एक शतक र चार अर्धशतकसहित ४०२ रन प्रहार गरेका छन् ।

सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका उनले दुई खेल खेल्दा १०९ रन बनाएका छन् । ओमानविरुद्धको खेलमा मात्र पाँच रन बनाएका उनले फिलिपिन्सविरुद्ध भने अविजित १०४ रनको शतकीय पारी खेलेका थिए । 

कुशलले ६९ बलको सामना गर्दा १४ चौका र एक छक्का प्रहार गरेका छन् । यदि कुशल लामो समय क्रिजमा टिकेको खण्डमा क्यानडाका लागि प्रमुख समस्या बन्न सक्छन् ।

दिपेन्द्रसिंह ऐरी (नेपाल)

नेपालका अनुभवी ब्याटर दिपेन्द्रसिंह ऐरीले छनोटका दुई खेलमा ९४ रन बनाएका छन् । उनले ओमानविरुद्ध ११ रन बनाउँदा फिलिपिन्सविरुद्ध ८३ रनको उत्कृष्ट पारी खेले ।

शीर्षक्रमका ब्याटर दीपेन्द्रले नेपालका ३१ टि- २० अन्तर्राष्ट्रिय खेल खेल्दा तीन अर्धशतकसहित ७१३ रन बनाएका छन् । उनी ब्याटिङमा मात्र नभई बलिङमा पनि टोलीका लागि योगदान दिन सक्ने खेलाडी हुन् ।

मध्यमगतिमा बलिङ गर्ने दीपेन्द्रको नाममा आठ अन्तर्राष्ट्रिय विकेट छ । उनी क्यानडाका लागि ब्याटिङ र बलिङ दुवैमा घातक बन्न सक्छन् । 

  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १२:३९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया