पौडेल र यादवबीच भेटवार्ता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका छन्।

वरिष्ठ नेता पौडेलले सोमबार सिंहदरवारस्थित जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर एमसिसी सम्झाैताकाे विषयमा अध्यक्ष यादवसँग भेटवार्ता गरेका हुन् । 

भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले एमसिसीको समस्या जटिल रूपमा आएको भन्दै भेटवार्ताको क्रममा एमसिसीको कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र नेपालको विकासको भविष्य के हुन्छ भन्ने विषयमा कुराकानी गरिएको उल्लेख गरे ।

एमसिसीको सम्बन्धमा जसपा अध्यक्ष यादवसँग सैद्धान्तिक मतभेद नदेखिएको उनको भनाइ छ । अध्यक्ष यादवले फागुन १३ गते पार्टीको बैठक राखेर एमसिसीबारे निर्णय लिने बताएको उनले जानकारी दिए ।

उनले भने, ‘अहिले सामान्यतया देशको परिस्थितिको बारेमा हामीले छलफल गर्‍याैं । एमसिसीको समस्या पनि अहिले हाम्रो अगाडि जटिल रूपमा आइरहेको छ । यसले गर्दा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध के हुन्छ ? हाम्रो विकासको भविष्य के हुन्छ ? यि कुरा हामीले राम्रैसँग कुरा गर्‍याैं । सैद्धान्तिक रूपमा त हाम्रो बीचमा केही मतभेदजस्तो देखिएन । तर, केही प्राविधिक कुराहरू छन् । उहाँहरू मिटिङ गर्नुहुन्छ रे १३ गते अनि त्यसपछि निर्णय गर्नुहुन्छ भन्नुभयो ।’

एमसिसी सम्झौताको विषय अब सडकबाट नभई संसदमा छलफल हुने नेता पाैडेलले बताए ।





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १५:२९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया