केरुङ–काठमाडौँ रेलमार्ग स्थलगत निरीक्षण: अाठ वर्षमा निर्माण सम्पन्न हुने अनुमान

काठमाडौँ– रेल विभागका अधिकारी र नेपाल भ्रमणमा रहेको चीनको नेशनल रेल्वे अथोरिटीका अधिकारी टोलीले केरुङ काठमाडौँ रेलमार्गको स्थलगत निरीक्षण गरेको छ । 

टोलीले रसुवागढी, रसुवा, नुवाकोटका केही स्थानको भौगोलिक अवस्थाका बारेमा स्थलगत जानकारी लिएको हो । स्थलगत निरीक्षणमा रहनुभएका विभागका प्रवक्ता अमन चित्रकारले रेलमार्ग रहने स्थानको नेपाली र चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरेको बताए । 

उक्त टोलीमा विभागका महानिर्देशक कलराम मिश्रलगायतका अधिकारी र चिनियाँ टोलीमा चिनियाँ नेशनल रेल्वे अथोरिटीका उपप्रशासक आन लुसङलगायतको सहभागिता थियो । संयुक्त टोलीले काठमाडौँबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङ्कनको अवस्थालगायत विषयमा जानकारी लिएको छ । 

यस्तै चिनियाँ प्रतिनिधिमण्डलले आजै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग शिष्टाचार भेटवार्ता गरी रेलमार्ग निर्माणको विषयमा जानकारी गराएको थियो । नेपाली र चिनियाँ टोलीले बुधबार काठमाडौँ–पोखरा रेलमार्ग रहने स्थानको समेत स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ । 

केरुङ–काठमाडौँ रेलमार्गको दूरी करीब ८० किलोमिटर हुने देखिएको छ । सो रेलमार्गको निर्माण अवधि आठ वर्षको हुने र करीब तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ । काठमाडौँ–पोखरा रेलमार्गको विषयमा यसअघि नै चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययन गरिसकेको छ । सो रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ । 





  • प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार ७:३१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया