एसएसबीले हटायो महाकाली नदीका तुइन, दार्चुलाका प्रजिअ बेखबर

भारतीय सीमा सुरक्षा बल एसएसबीले दार्चुलाको व्यास गाउँपालिका क्षेत्रमा महाकाली नदीमाथि लगाइएका तुइनहरु हटाएको छ । विगत तीन दिनदेखि तुइन हटाएर तुइन लगाएको क्षेत्रमा एसएसबीले दैनिक रूपमा ड्युटी गर्न थालेको व्यास गाउँपालिका वडा नं ४ का स्थानीय एवं वडा सदस्य प्रेमसिंह धामीले बताए । 

दार्चुला सदरमुकाम खलंगा बजार आवतजावत गर्न व्यासका स्थानीयले महाकाली नदीमाथि तुइन तरेर भारतीय सडकको प्रयोग गर्ने गरेका छन् । नेपालतर्फ राम्रो सडक नहुँदा भारतीय बाटो प्रयोग गर्न स्थानीय बाध्य रहेको वडा सदस्य धामीले बताए । 

‘नेपालको बाटो भएर सदरमुकाम झर्न एक दिन हिँड्नुपर्छ,’ उनले भने । तत्काल अस्पताल पुगाउनुपर्ने बिरामीदेखि दैनिक उपभोग्य सामान किनमेल गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने अवस्थाले पछिल्लो समय तुइन हटाइँदा समस्या भएको छ । 

मलघट्टेको पुल निर्माण सम्पन्न भएकाले जनताको सहजताका लागि सञ्चालनमा ल्याइनुपर्ने उनको भनाइ छ । केही व्यक्तिहरु गेट बन्द गरिएको पुलबाट हाम फालेर आवत जावत गरिरहेकाले यसले झन दुर्घटनाको जोखिम निम्त्याएको छ ।

एसएसबीले तुइन हटाएको विषयमा आफू जानकार नभएको सशस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलाका गणपति एसपी त्रिभुवन विष्टले बताए ।

व्यास गाउँपालिकाको वडा नं ४ मलघट्टे र वडा नं ६ को बडुगाउँमा नेपाल भारत जोड्ने झोलुंगेपुलको निर्माण कार्य सम्पन्न भएको छ । 



निर्माण कार्य सकिँदासमेत पुलहरु सञ्चालनमा आएका छैनन् । बडुगाउँमा गत वर्ष पुल निर्माण सम्पन्न भएको थियो भने मलघट्टेमा अघिल्लो महिना पुल निर्माण सम्पन्न भएको छ । 

दार्चुलाको महाकाली नदीमा तुइनमुक्त कार्यक्रमअन्तर्गत चारवटा सीमापुल निर्माण भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । 



चारपुलमध्ये दुई पुल निर्माण सम्पन्न हुन बाँकी छन् । पुलहरु प्याकेजमा सञ्चालन गरिने भएकाले निर्माण सम्पन्न भए पनि सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । एक प्याकेजमा मालिकार्जुन गाउँपालिकाको बाकु पुल र बडुगाउँ पुल तथा अर्को प्याकेजमा व्यास गाउँपालिका २ मा निर्माण भइरहेको भारतको गस्कु र नेपालको माल जोड्ने पुल तथा मलघट्टे पुल रहेका छन् । 

एउटै प्याकेजमा रहेका पुलहरु निर्माण सम्पन्न भएपछि सँगै सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाइ छ । 

बडुगाउँ पुल निर्माण सम्पन्न भए पनि बाकुँ पुल निर्माण सम्पन्न हुन बाँकी छ । त्यसैगरी मलघट्टेको पुल निर्माण सम्पन्न भए पनि मालको पुल निर्माणधिन अवस्थामा रहेकाले सीमापुलहरु सञ्चालन हुन केही समय पर्खिनुपर्ने अवस्था छ । 

एसएसबीले तुइन हटाएको विषयमा आफू जानकार नभए पनि तुइन हटाइनुपर्ने प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाइ छ । ‘तुइन जोखिम र असुरक्षित भएकाले हटाइनुपर्छ, तर हाल एसएसबीले तुइन हटाएको विषयमा जानकार छैन,’ उनले भने ।

  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार २२:१३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया