प्रदेश १ को नामकरण सहमतिका आधारमा टुंगोमा पुर्याउने भनिए पनि दलहरू भने आ-आफ्नै अडानमा देखिएका छन् ।
प्रदेश १ को नामकरणका विषयमा प्रदेश सरकारका स्वास्थ्यमन्त्री जयराम यादव गठित समितिले मंगलबार आयोजना गरेको सर्वदलीय छलफलमा दलहरूले प्रदेश नामकरणका विषयमा ठोस कुरा भने राखेनन् ।
राजनीतिक दलका प्रदेशका शीर्षनेता सहभागी बैठकले सहमतिका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने उनीहरूकाे भनाइ थियाे ।
सर्वदलीय बैठकमा एमाले प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले गठबन्धनको तर्फबाट धारणा आएपछि बल्ल आफ्नो पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।
उनले एमाले पेलेर जाने या ठेलेर जाने भएको भए दुई तिहाइको सरकार भएका बेला प्रदेशको नाम टुंगोमा पुर्याउने बताए । ‘हामी उहिल्लै नाम राख्थ्याैँ,’ उनले भने ।
सरकारले साझा प्रस्ताव ल्याए त्यसमा छलफल गर्न एमाले तयार रहेको उनले बताए । न्यौपानेले अहिले एमालेको कसैसँग विमति नभएको र साझा रूपमा एमाले नामको विषयमा छलफल गर्न तयार रहेको बताए ।
नेपाली कांग्रेसका प्रदेश सभापति उद्धब थापाले नामकरणको विषय सजिलो नभएको बताए । उनले नामको विषय आजै निर्णयमा पुग्न नसक्ने धारणा राखे ।
पहिचानको विपक्षमा कांग्रेस नभएको भन्दै उनले जे नाम राखे पनि यहाँ बस्नेले यो नाम मेरो पनि हो भन्ने हुनुपर्नेमा कांग्रेस रहेको बताए ।
माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क नेम्बङले पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्नेमा आफ्नो दल रहेको बताए ।
उनले पहिचान पनि कुन भन्नेमा छलफल भइरहेको, तर अहिले नै पार्टी यही नाम हुनुपर्छ भन्नेमा स्पष्ट भइनसकेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।