भारतीय विधानसभा निर्वाचनः प्रारम्भिक मतगणनामा भाजपाभन्दा कंग्रेस अगाडि

नयाँ दिल्ली- भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिक मतगणनाले भारतीय कंग्रेसलाई मजबुत देखाएको छ । कंग्रेस छत्तिसगढमा पनि भाजपाभन्दा अगाडि देखिएको छ भने मध्यप्रदेशमा समानान्तर मत परिणाम ल्याउने देखिएको छ । 

त्यस्तै तेलंगनामा क्षेत्रीय दल तेलंगना राष्ट्र समिति (टिआरएस)ले नेतृत्व गरेको छ भने मिजाेरममा मिजो नेसनल फ्रन्टले प्रारम्भिक मतगणनामा निर्वाचनमा नेतृत्व गरिरहेका छन् । 

भारतमा वर्तमान निर्वाचनमा राहुल गान्धीको नेतृत्वलाई कति सफल वा असफल भनी मापन गर्ने कडीका रूपमा लिइएको छ भने प्रारम्भिक मतगणनाबाट कंग्रेसको अवस्था मजबुत नै देखिएको छ । यद्यपि, निर्वाचनको एकदमै प्रारम्भिक नतिजा आइरहेकाले यसैलाई मानक मानिहाल्न मिल्ने अवस्था भने छैन । 

जयपुरमा कंग्रेस नेता सचिन पाइलटले भने, ‘निर्वाचन मतगणनाको प्रवाह हेर्दा भारतीय कंग्रेसले राजस्थान, मध्यप्रदेश र छत्तिसगढमा राम्रो पकड जमाउने देखिएको छ । हामी विश्वस्त छौँ यो सुरुवाती परिणामले अन्तिमसम्म निरन्तरता पाउनेछ ।’ 

यसैगरी, प्रारम्भिक मतगणनामा देखिएको झुकावप्रति प्रतिक्रिया दिँदै भाजपा नेता तथा गृहमन्त्री राजनाथ सिंले भने, ‘निर्वाचन राज्य सरकारका गतिविधिलाई हेरेर आउने भएको र यसलाई नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारसँग तुलना गर्ने र मोदी सरकारको सफलता र असफलतासँग दाँज्न मिल्दैन । 

प्रारम्भिक मतगणनाअनुसार राजस्थानमा कंग्रेसको ९७ सिटमा, भाजपाको ७५ स्थानमा र १२ स्थानमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । यो प्रदेशमा कंग्रेसको विकल्प भाजपा र भाजपाको विकल्प कंग्रेस दिने गरेको इतिहास छ । 

यसैगरी, परिणामले २ सय ३० सिट भएको राजस्थानको छिमेकी मध्यप्रदेशमा सुरु भएको २ सय २४ सिटको मतगणनाले कंग्रेसलाई ११२ सिट र भाजपालाई १०३ सिटमा अघि देखाएको छ । 

दक्षिणी राज्य तेलंगनामा क्षेत्रीय दल टिआरएसले ९० सिटमा अग्रता पाएको छ, कंग्रेसले १६ सिटमा नेतृत्व गरेको छ भने टिडिपीले दुई र भाजपाले एक सिटमा नेतृत्व गरेको देखिएको छ । 

अर्को एक सानो राज्य मिजाेरममा मिजो नेसनल फ्रन्टले २० सिट, कंग्रेसले पाँच र भाजपाले एक स्थानमा अग्रता लिएको देखाइएको छ । 





  • प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार ११:२६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया