देउवालाई ओलीको प्रस्ताव : सभामुखलाई हटाऊँ, तपाईंलाई साथ दिन्छौं

प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्षसहितका नेताले छलफल गरेका छन् । उनीहरूबीच संसदमा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका विषयमा करिब ३ घण्टा छलफल भएको थियो ।

मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई संसद्मा पेस भएको एमसिसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेका थिए । ओलीलाई देउवाको प्रस्ताव थियो - एमसिसी अनुमोदन गर्न गठबन्धनबाटै सहयोग भयो । तपाईंले साथ दिनुहोस् ।

जवाफमा अध्यक्षले ओलीले संसदको अवरोध खोल्ने वातावरण बनाउन आग्रह गरेका थिए । उनले सभामुख अग्नि सापकोटालाई हटाएर भए पनि आफूहरूलाई संसदीय प्रक्रियामा प्रवेश गर्ने अवस्था बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

'सभामुखलाई हटाएर भए पनि संसदीय प्रक्रियामा प्रवेश गर्ने वातावरण बनाउनुहोस्, बरू कांग्रेसकै सभामुख सभामुख बनाउनुहोस्' उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'हामी तपाईंहरूलाई सहयोग गर्छौं ।' उनले देउवालाई आफूहरू सरकारमा पनि सहभागी नहुने बताएका थिए ।

यता, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल पनि प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच एमसिसी अनुमोदनका विषयमा छलफल भएको बताए । उनका अनुसार छलफलका क्रममा देउवाले ओलीलाई सत्ता गठबन्‍धनकै दलहरूबाट आफूलाई असहयोग भएको बताउँदै एमसिसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।  

'भेटका क्रममा प्रधानमन्त्रीज्यूले हाम्रो पार्टीसमक्ष सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गर्नुभयो,' उनले भनेका छन् ।



उनका अनुसार अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग आफूहरूले संसद्मा विगत छ महिनादेखि राख्दै आएका जायज माग पूरा गर्नुपर्ने अडान दोहोर्‍याएका थिए । 'अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरू राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरू पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ,' नेता रिजालले भने ।

एमालेले आफूहरूले कारबाही गरेका सांसदको सूची प्रकाशित नगरेर सभामुख सापकोटाले पार्टी फुटाउन सहयोग गरेको भन्दै विरोध जनाउँदै आएको छ । साथै उसले माधव नेपालसहित १४ सांसदको सूची निकाल्नुपर्ने र सभामुख सापकोटाको राजीनामा माग गर्दै आएको छ । एमालेले यो विषयमा सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको छ । रिट अहिले विचाराधीन अवस्थामा रहेको छ ।



भेटवार्ता अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए । उनीहरू करिब २ घण्टाको बालुवाटार बसाइँपछि बाहिरिएका थिए ।

अध्यक्षले देउवालाई भेट्नुअघि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीसँग समेत छलफल गरेका थिए ।

  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार २१:१६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया