जनकपुर पुगे योगी आदित्यनाथ

काठमाडाैं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूत तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर पुगेका छन् । २ नम्बर प्रदेशको राजधानी जनकपुरमा हुने रामजानकी विवाह महोत्सवमा सहभागी हुन योगी जनकपुर आएका हुन् । 

योगी आदित्यनाथलाई जनकपुरमा संघीय सरकारका पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतले जनकपुर विमानस्थलमा स्वागत गरेका छन् ।

विवाह पञ्चमीका लागि जन्तिसहित आएका योगी आजै भारत फर्किनेछन् । योगीले आजै दिउँसो २ रंगभूमि मैदान बाह्रबिगामा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर भारत फर्किने कार्यक्रम रहेको छ ।

योगीको सुरक्षाका लागि भन्दै जनकपुर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । योगीको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका करिव ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ  ।

विवाहपञ्चमीका लागि भन्दै मिथिला क्षेत्रका आठ जिल्लामा बुधबार सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

सरकारले विवाह पञ्चमीमा सहभागी हुन भारतीय प्रधानमन्त्रीलाई नै आग्रह गरेको थियो । तर, भारतीय प्रधानमन्त्रीले आफ्नो सट्टा योगीलाई पठाउने वाचा गरेका थिए । मोदीको वाचा अनुसार नै योगी नेपाल आएका हुन् ।



योगी आदित्यनाथले जयनगर जनकपुर रेलमार्गको उद््घाटन गर्ने कार्यक्रम सार्वजनिक गरिएपनि प्रोटकल मिचिने भएपनि रेल उद्घाटन कार्यक्रम स्थगित गरिएको छ । 

प्रदेश सरकारले विवाह पञ्चमीमा सहभागि हुने जन्तिका लागि दिवाभोज समेत आयोजना गरेको छ ।



रामायणमा वर्णन गरिएअनुसार त्रेतायुगमा राजा जनककी छोरी सीता अर्थात् जानकीको प्राचीन मिथिला राज्यमा जन्म भएको हो ।

उनको विवाह अध्योयाका राजा दशरथका जेठा छोरा रामसँग मंसिर शुक्लपञ्चमीका दिन भएको पौराणिक मान्यता छ । सोही तिथिका दिन प्रत्येक वर्ष विवाहोत्सव आयोजना हुँदै आएको छ ।

योगी आदित्यनाथ को हुन ?

उत्तर प्रदेशका मुख्यमन्त्री रहेका आदित्यनाथको वास्तविक नाम अजय सिंह हो ।  गढवाल युनिभर्सिटीबाट बिएससीसम्मको अध्ययन गरेका योगी भारतको सबैभन्दा ठूलो प्रदेशका मुख्य मन्त्री हुन भने उनी मोदीका विश्वासपात्रका रुपमा समेत परिचित छन् ।

गोरखनाथ मन्दिरका महन्त अवैद्यनाथसँग दिक्षा लिएर उनी योगी बनेका थिए । योगीका गुरु अवैद्यनाथले सन् १९९८ मा राजनीतिबाट सन्यास लिएपछि योगी उनको उत्तराधिकारीको रुपमा स्थापित भएका हुन् । 

२६ वर्षको उमेरमा पहिलोपटक सांसद बनेका योगी आफ्ना विवादास्पद वयानका कारण पनि चर्चित छन् । उनले केही समय अगाडी मात्रै हनुमान दलित जातिका रहेका बताएका थिए । 

गत वर्ष उत्तरप्रदेशमा बाढी गएपछि योगीले नेपालका कारण भारतमा बाढी जाने गरेको आरोप लगाएका थिए । नेपालका नदिबाट पानीको बहाब बढी आएका कारण आफ्नो राज्य डुबानमा परेको बताएका थिए । 

आफ्नो राज्यका बाढी प्रभावित क्षेत्रको भ्रमणका क्रममा उनले भनेका थिए, ‘प्राकृतिक प्रकोपबाट हजारौँ प्रभावित भएका छन् । यो स्थिति नेपालका नदीहरुबाट ठूलो मात्रामा पानी छाँडिदा भएका हुन् ।’

  • प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार १२:४१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया