महिला फुटबल टोलीको प्रशिक्षण आजदेखि

काठमाडौँ– पाँचौं संस्करणको साफ महिला फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ । प्रतियोगिता आउन तीन महिना बाँकी छँदै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले महिला टोलीको तयारी अघि बढाएको प्रवक्ता किरण राईले जानकारी दिए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रशिक्षणका लागि ३३ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । 

राष्ट्रिय टोलीमा रहेका खेलाडी, उमेर समूहका खेलाडी र हालै सम्पन्न प्रधानसेनापति कपमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको मुख्य प्रशिक्षक हरि खड्काले जानकारी दिए । नेपालमै आयाजना हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । सो समूहमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् । 

दक्षिण एसियाली महिला फुटबलको राम्रो टोली नेपालले अहिलेसम्म भारतको बर्चस्व तोड्न सकेको छैन । सबै संस्करणको उपाधि भारतले जितेको छ । नेपाल अहिलेसम्म फाइनलमा भारतसँग पराजित हुँदै आएको छ । 

नेपालले प्रतियोगिता आगामी फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा गर्दैछ । यसअघि उक्त प्रतियोगिता श्रीलङ्काले आयोजना गर्ने निर्णय भएकामा श्रीलङ्कामा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण प्रतियोगिता गर्न नसक्ने जनाएपछि दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले निर्धारित समयभन्दा एक महिनापछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको हो । 

प्रतियोगिता आयोजना गर्ने अवसरबाट नेपाली महिला खेलाडीलाई थप ऊर्जा प्राप्त हुने एन्फाले विश्वास लिएको छ । यसअघि आगामी पुस २ गतेदेखि श्रीलङ्कामा खेल शुरु हुने गरी खेल तालिका सार्वजनिक भएको थियो । घरेलु मैदानमा च्याम्पीयन बन्ने लक्ष्यका राखेको नेपाली महिला टोली खड्काको प्रशिक्षण तथा निरु थापाको कप्तानीमा रहेको छ । नेपाली महिला टोली हालै म्यान्मामा भएको ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्न सफल भइसकेको छ । 





  • प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार १३:१४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया