आफन्तले पनि छाडे ठाकुरको साथ, नेतृ ठाकुरले रोजिन् तमलोपा

कार्यकारिणी सदस्यलगायतका नेताहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरको साथ छोड्दा उनी थप कमजोर बनेका छन्।

लोसपाको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै सयौंको संख्यामा नेता तथा कार्यकर्ताहरूले अध्यक्ष ठाकुरको साथ छाड्न थालेका हुन् । 

पछिल्लो पटक लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्यसमेत रहेका पूर्वराष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लाल र संविधान सभा सदस्य डा. विजयकुमार सिंहलगायत एक सय भन्दा बढी नेता कार्यकर्ताहरू लोसपा परित्याग गरी रविशंकरकुमार कर्णको नेतृत्वमा नवगठित ‘तराई-मधेस लोकतान्त्रिक पार्टी’ (तमलाेपा) प्रवेश गरेका हुन् ।

अध्यक्ष ठाकुरका आफन्तहरूले समेत उनको साथ छाड्न थालेका छन् । त्यसैमध्येकी एक हुन्- नेतृ बिन्दु ठाकुर । विगत लामो समयदेखि मधेस केन्द्रित राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्द आएकी नेतृ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरेकी हुन् ।

सुरुदेखि नै ठाकुरलाई साथ दिँदै आएकी नेतृ ठाकुरले मंगलबार औपचारिक रूपमै उनको साथ छोडेकी छन् । 

अध्यक्ष ठाकुरले पछिल्लो पटक पार्टीलाई गतिहीन बनाउन खोजेकोले उनको साथ छोडेर आफू तमलोपामा प्रवेश गरेको नेतृ ठाकुरले बताइन् । 



नेतृ ठाकुरले अब आफ्नो सहयोग र समर्थन तमलोपाका लागि रहने प्रष्ट पारिन् । 

नेतृ ठाकुरले वर्तमान अवस्थामा मधेसको जनताको चाहनाअनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकता बमोजिम स्वशासन एवं संघीयताको अभ्यासलाई अगाडि बढाउन, लोकतन्त्रवादी, मधेस एजेण्डाप्रति प्रतिवद्ध राजनीतिक दल आजको आवश्यकता भएकोले आफू आवद्ध लोसपा नेपाल परित्याग गर्दै तमलाेपामा समावेश भएको बताइन् ।



लोसपा अध्यक्ष ठाकुरले जनताको अभिमत र समर्थनलाई सत्ता एवम् सरकारमा सहभागिताका लागि शक्तिको हातमा सुम्पेको आरोपसमेत लगाइन् । 

नेतृ ठाकुरसँगै लोसपाका नेताहरू उमेशकुमार मण्डल, धिरेन्द्र बहादुर सिंह, रामजी राय, सतिश लाल दास, योगेन्द्र राय, ब्रजकिशोर सिंह, मो.असगर अलि, भोलानाथ झा, राज किशोर मण्डल, मो.सुहैल अहमद, निर्मला झा, इन्द्रेश कुमार झालगायतका सयौं जनाले तमलोपा रोजेका छन् ।

  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार १५:३०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया