काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माणमा मन्त्रालयबीच समन्वय गर्न संसदीय समितिको निर्देशन

काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माण कार्यमा सरोकारवाला मन्त्रालयबीच समन्वय गर्न संसदीय समितिले निर्देशन दिएको छ । बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकले यस्तो निर्देशन दिएको हो । 

सरोकारवाला मन्त्रालयहरुका बीचमा समन्वय नहुँदा काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माणको काम प्रभावित भएको भन्दै अन्तरमन्त्रालय समन्वय गर्न समितिले निर्देशन दिएको हो । 

समितिले ठेक्का प्राप्तिको व्यवस्थापन, डिजाइनअनुसारको थप जग्गा अधिग्रहण तथा रुख कटानलगायतको समस्या समाधानका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला मन्त्रालयलाई निर्देशन दिएको समितिकी सभापति कल्याणी कुमारी खड्काले बताइन् । 

समितिले काठमाडौं–तराई–मधेस द्रुतमार्गको अध्ययन अवलोकन भ्रमण गर्ने पनि निर्णय गरेको तथा समितिले काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजनाको सम्बन्धमा अध्ययन गरी समितिलाई प्रतिवेदन पेस गर्नका लागि बनाएको उपसमितिले कोभिड–१९ को प्रभावका कारण काम सम्पन्न गर्न नसकेकाले थप दुई महिनाका लागि उपसमितिको म्याद थपिएको सभापति खड्काले जानकारी दिइन् । 

समिति बैठकमा बोल्दै सांसद गणेश पहाडीले स्थलगत अवलोकनका क्रममा वन मन्त्रालयले रुख कटानको आदेश नदिँदा काममा अवरोध भएको देखिएको बताए । राष्ट्रिय गौरवका आयोजनामा रुख कटान गर्नुपर्ने भएमा मन्त्रालयले तुरुन्तै सहजीकरण गर्नुपर्नेमा उनले मन्त्रालयको ध्यानाकर्षण गराए । आयोजनाअन्तर्गतका कतिपय प्याकेजहरुको ठेक्का व्यवस्थापन नभएको र जग्गा प्राप्तिमै समस्या रहेकाले निर्धारित समयमा सम्पन्न हुनेमा चुनौती देखिएको उनले उल्लेख गरे । 

वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले आयोजनामा यसअघि मन्त्रालयले जग्गा र रुख कटानका लागि स्वीकृति दिएको उल्लेख गर्दै आगामी दिनमा पनि आयोजनालाई चाहिने वन क्षेत्र र रुख कटान गर्न दिन मन्त्रालय सकारात्मक रहेको बताए । उनले सो विषय मन्त्रालयले मात्रै निर्णय गर्न नसक्ने भएकाले छिटोभन्दा छिटो मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने उनले बताए । 



भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले अध्ययनविना नै योजना छनोट गर्नाले निर्माणका क्रममा विभिन्न समस्या झेल्नुपरेको बताए । सरकारी परियोजनाका निम्ति छुट्टै ऐन बनाउनुपर्ने बताउँदै उनले काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माणका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने वचन दिए । 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौं–तराई–मधेस द्रुतमार्ग ०८१ साल पुस मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।



  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार १८:३१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया