नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन्।
सभामुखसँग भेटका लागि प्रचण्ड माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई लिएर लैनचौरस्थित सभामुख निवास पुगेका थिए।
सभामुख सापकोटाको सचिवालयका अनुसार भेटवार्तामा एमसिसीका विषयमा पार्टीको धारणालगायत समसामयिक विषयमा छलफल भएको छ।
प्रचण्डले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसिसीलाई संयुक्त पत्र पठाउँदै एमसिसी अनुमोदन गराउने प्रतिबद्धता गरेका थिए। तर, माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसिसीका विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। प्रचण्डले दोहोरो चरित्र देखाएको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ।
सरकारको नेतृत्वकर्ता दल कांग्रेसले एमसिसीलाई संसदबाट टुंगो लगाउन जोडबल गरिरहेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक भेटेर एमसिसी पास गर्न सहयोग मागिरहेका छन् ।
ओलीले सभामुखलाई हटाउन र आफ्नो पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न सहयोग गरे एमसिसी पारित गर्न सहयोग गर्ने वचन दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।