काठमाडौं– प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरिदका सम्बन्धमा उठेको प्रश्नको छानबीन गरी प्रतिवेदन दिन सात सदस्यीय उपसमिति गठन गरेको छ । समितिले वाइड बडी विमान खरिद सम्बन्धमा १५ दिनभित्र यथार्थ विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्न सांसद राजेन्द्र केसीको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको सभापति भरतकुमार शाहले जानकारी दिए ।
उपसमितिमा सदस्यहरु प्रेमबहादुर आले, मीना सुब्बा, चन्दा चौधरी, कृष्णलाल महर्जन, प्रदीप यादव र धर्मशीला चापागाईं छन् । उपसमितिले महालेखा परीक्षकको कार्यालय र सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रतिवेदनलाई मुख्य आधार मानेर प्रतिवेदन तयार गर्ने कार्यादेश पाएको छ ।
समितिले यसअघि महालेखा परीक्षकको प्रतिवेदनमा देखाइएको बेरुजुका आधारमा जहाज खरिदका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत मन्त्रालय र निगमका उच्चपदस्थ अधिकारीसँग छलफल गरिसकेको छ ।
समितिको निर्देशनअनुसार, सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत विमान खरिदका सम्बन्धमा आफनो प्रतिवेदन समितिसमक्ष बुझाइसकेको छ । उपसमितिको प्रतिवेदन प्राप्त भएपछि समितिले जहाज खरिद सम्बन्धमा के–कस्तो ढंगबाट अघि बढ्ने सन्दर्भमा निष्कर्षमा पुग्ने सभापति शाहले जानकारी दिए ।
समितिको आजको बैठकमा सदस्यले राष्ट्रपति कार्यालयका लागि आवश्यक भनिएको गाडी खरिद, बुढीगण्डकी जलविद्युत् आयोजना, तारा गाउँ विकास समितिको जग्गाको भोगचलन, समितिको वार्षिक कार्यसूचीलगायतको विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।