हुवावेकी कार्यकारी मेङले पाइन् जमानत

क्यानडा– यहाँको एक अदालतले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई सर्तसहितको जमानत दिएको छ । 

अमेरिकी अनुरोधमा भ्यानकुभरमा पक्राउ परेका मेङको विषयलाई लिएर चीन र अमेरिकाबीचको सम्बन्धमा तनाब सिर्जना भएको थियो । 

अदालतले मेङसँग ७५ लाख अमेरिकी डलर जमानत मागेको छ । साथै, पासपोर्ट क्यानडेली सरकारलाई बुझाउनुपर्ने र विद्युतीय अनुगमन गर्ने अदालतको आदेश छ । 

चीनले मेङको गिरफ्तारीलाई लिएर कडा शब्दमा भर्त्सना गर्नुका साथै चीनस्थित अमेरिका र क्यानडाका राजदूतलाई बोलाएर विरोध जनाएको थियो । साथै, अदालतबाट भएको सर्त सहितको जमानतप्रति पनि चीनले आपत्ति जनाएको छ । 

अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरुको चिनियाँ कम्पनी हुवावेले उल्लंघन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । 

उनलाई अदालतको आदेश प्राप्त हुनासाथ रिहा गरिनेछ । भ्यानकुभरमा उनका पति लिउ झाओझोङको निवासमा बस्न मेङलाई अनुमति दिइएको छ । अदालतमा उपस्थित मेङका समर्थकहरुले न्यायाधीशको आदेशपछि खुसीयाली मनाएका थिए । 



मेङलाई १ डिसेम्बरमा भ्यानकुभर प्रहरीले पक्राउ गरेको थियो । अमेरिकी अधिकारीहरुले मेङको गिरफ्तारी चीनसँगको व्यापार वार्तासँग सम्बन्धित नरहेको बताएका छन् । 

हुवावे प्रविधिको क्षेत्रमा चीनको विश्वव्यापी पहुँच रहेको मुख्य कम्पनी हो, तर हुवावेले उपलब्ध गराएका कतिपय सेवामाथि संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतले सुरक्षाको कारण दर्शाउँदै प्रतिबन्ध लगाएका छन् । 



हुवावेका संस्थापककी छोरी मेङमाथि इरानविरुद्ध अमेरिकी प्रतिबन्धलाई बेवास्ता गरी व्यापारिक सम्बन्ध कायम राखेको र बैंकहरुलाई ढाँटेको आरोप लागेको छ । यदि मेङ दोषी ठहरिए उनलाई ३० वर्षभन्दा बढी जेल सजाय हुन सक्नेछ । 

आगामी फेब्रुअरी ६ बाट मेङलाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया सुरु हुनेछ । तर, कानुनी जटिलताका कारण यो प्रक्रिया पूरा हुन महिनौँ वा वर्षौंसम्म लाग्न सक्ने बताइएको छ । 

  • प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार १५:४६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया