एमसिसीमा एमाले भन्छ : पास गर्ने दायित्त्व छैन, प्रधानमन्त्रीले ब्ल्याङ्क चेक मागे
‘गठबन्धन भत्काउन न धूप हालेका छौं, न गणेशको पूजा नै’

निकै चासोका साथ हेरिएको प्रतिनिधिसभाको बैठक अन्तिम समयमा आएर स्थगित भयो । गत आइतबार संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसिसी)कै कारण आजको बैठक स्थगित भएको हो । 

कुनै पनि हालतमा एमसिसी पास गराउने रणनीतिमा लागेका प्रधानमन्त्री शेरबहादुर देउवाकै आग्रहमा आजको बैठक स्थगित भएको जनाइएको छ ।

यसअघि देउवाले गठबन्धन र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग भेटघाट तीव्र बनाएका थिए । आजै मात्र देउवासँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका थिए । 

प्रचण्ड गठबन्धनमा सहमति जुटाएर एमसिसीको विषयलाई केही समय पर धकेल्ने र गठबन्धन जोगाउने प्रयासमा छन् । तर, देउवाले आवश्यक परे एमालेसाग सहकार्य गर्नेगरी गृहकार्य गरिरहेका छन्। 

संसदीय घटनामा विरलै हुने घटनामध्येको एक भयो- आजको संसदमा । सांसदहरू बैठकमा सहभागी हुनका लागि संसद भवनभित्रै छिरिसकेर फर्किन परेको छ । कतिपयले गएर आजको बैठकका लागि सिटमा पनि बस्न भ्याएका थिए । 

यसैबीच प्रतिपक्षी दल नेकपा एमाले भने अहिलेसम्म एमसिसीका पक्ष वा विपक्षमा स्पष्ट भइसकेको छैन । एमाले र नेपाली कांग्रेसबीच सहकार्य हुन लागेको चर्चा हुँदैगर्दा एमाले सचिव योगेश भट्टराईलाई संचारकर्मीले सोही प्रश्न तेर्साए । 



संसद स्थगित भएपछि फर्कँदै गर्दा संचारकर्मीले भट्टराईलाई सोधेका थिए- एमाले र नेपाली कांग्रेसबीच सहकार्य हुन लागेको हो ? उनले भने, ‘सत्तापक्षी र प्रतिपक्षीबीच संवाद हुनु राम्रो कुरा हो । त्यो संवादले आजको समस्याको समाधान गर्छ कि गर्दैन भन्ने कुराको सुनिश्चितता छैन।’

‘प्रधानमन्त्रीले ब्ल्यांक चेक माग्नुभयो’



एमालेसँग पछिल्ला दिनमा अपत्यारिलो लाग्नेगरी भेटघाट बाक्लो बनाइरहेका छन्- देउवा । सत्ता गठबन्धनका नेताहरू एमसिसीको विरुद्धमा खरो उत्रिएपछि उनले गठबन्धन तर्साउन मात्र नभई रणनीतिक रूपमै एमालेसँगको सहयात्रा बढाएको चर्चा छ । 

भट्टराईले पनि सोही कुराको संकेत गरे । उनले संचारकर्मीलाई भनेका छन्, ‘सत्तापक्षको कुरा खालि हामीले उठाएको कुराहरूलाई सम्बोधन नगरी ‘ब्ल्याङ्क चेक दिनुस् भनिरहनुभएको छ । नेकपा एमालेले ब्ल्याङ्क चेक दिँदैन ।’

उनले एमालेसँग संवाद गर्नका लागि ब्ल्याक एण्ड ह्वाइटमा आउनपर्ने बताए । 

‘पार्टीभित्रका गुटका संकट ल्याएर पार्टीमा थोपर्ने, पार्टीको संकट ल्याएर गठबन्धनमा थोपर्ने, गठबन्धनको संकटलाई राष्ट्रिय संकटको रूपमा नेपाललाई भूराजनीतिको चलखेल गर्ने अखडाको रूपमा जुन बनाइएको छ’, भट्टराईको स्पष्टिकरण छ, ‘यो अहिलेको गठबन्धनको सर्वथा असफलता हो । यसले मुलुकलाई अन्तर्राष्ट्रिय रूपमा बेइज्जत गरेको छ । मुलुकको अन्तर्राष्ट्रिय छवि कमजोर भएको छ । यसको सम्पूर्ण जवाफदेहिता गठबन्धनले दिनुपर्छ । हामीसँग संवाद गर्ने हो भने ब्ल्याक एण्ड ह्वाइटमा गरौं । ब्ल्याङ्क चेक मागेर नेकपा एमालेले दिँदैन ।’

‘विपक्षीलाई पास गर्ने दायित्त्व छैन’

विशेषगरी एमालेले एमसिसीका पक्ष वा विपक्षमा कुनै पनि धारणा नराखेको भन्दै आलोचना भइरहेको छ । भट्टराई भने एमाले विपक्षी भएका कारणले यो जिम्मा आफूहरूको नभई सत्तापक्षको भएको दाबी गर्छन् ।

‘एमाले विपक्षी हो । विपक्षीलाई यो दायित्व छैन । एमसिसी पास गर्ने दायित्व संसदीय व्यवस्थामा सत्तापक्षको हुन्छ’, उनले भने ।

त्यसो त, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै यो सम्झौता संसदमा दर्ताका लागि लगिएको थियो । एमाले आफू सत्तामा हुँदा भने एमसिसीबारे भ्रम छरिएको भन्दै पास गर्नपर्ने पक्षमा थिए । अहिले एमालेले संसद अवरोध गरिरहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा र आफ्ना १४ जना सांसदको कारबाही सूची टाँस हुनुपर्ने एमालेको माग छ । यो अवस्थामा संसदीय प्रक्रियामा आफूहरू भाग नलिने उनीहरूको अडान छ ।

‘गठबन्धन भत्काउन धूप हालेका छैनौं’ 

अहिलेको सत्ता गठबन्धनले मुलुकलाई अस्थिरतातर्फ धकेल्दै लगेको एमालेको लगातारको टिप्पणी छ । 

माओवादी अध्यक्ष प्रचण्डले हिजो मात्रै एमालेतर्फ इंकित गर्दै गठबन्धन भत्काउन षडयन्त्र भइरहेको आरोप लगाएका थिए । विशेषगरी देउवाले ओलीसँगको भेटवार्ता तीव्र बनाएपछि प्रचण्ड सशंकित छन् ।

तर, भट्टराईले भने आफूहरूले गठबन्धन भत्काउन धुप नहालेको टिप्पणी गरेका छन् । उनले भने, ‘गठबन्धन भत्काउन हामीहरुले कुनै धूप हालेका छैनौं । गणेशलाई पूजा गरेका छैनौं । भत्केपनि उहाँहरूको कारणले भत्किन्छ । नभत्के पनि उहाँहरूकै कारणले हो ।’

तर, उनले यो गठबन्धन भत्कनु मुलुकका लागि अनिवार्य भएको दाबी गरे । 

‘यो भत्कनु मुलुकको लागि अनिवार्य छ । गठबन्धन जहिलेसम्म रहन्छ, मुलुक अनिर्णयको बन्दी भइरहन्छ’, उनले भनेका छन् ।

  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार १५:७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया