काठमाडौं– कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा चलिरहेको एभरेष्ट प्रिमियर लिगमा ललितपुर पेट्रियट्ससँग काठमाडौं किंग्स १० विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको काठमाडौंले १९.५ ओभरमा पूरै विकेट गुमाउँदै १ सय ९ रन जोडेको थियो । १ सय १० रनको सामान्य लक्ष्य पाएको ललितपुरले कुनै पनि विकेट नगुमाई लक्ष्य पूरा गर्यो ।
ललितपुरलाई जित दिलाउने क्रममा गौरव तोमरले उत्कृष्ट पारी खेले । उनले ३५ बलमा ९ चौका र ५ छक्का सहित ८० रनको योगदान गरे । यस्तै, अर्का ब्याट्सम्यान जयकिसन कोल्सावालले नटआउट २७ रन जोडे ।
यसअघि ब्याटिङ गरेको काठमाडौंले राम्रो सुरुवात गर्न सकेन । पहिलो ओभरमा नै सागर पुनको महत्वपूर्ण विकेट गुमाएको काठमाडौंले दोस्रो ओभरको पहिलो बलमा नरेश बुढायरलाई गुमाउन पुग्यो । यी दुवै ब्याट्सम्यान खाता नै नखोली आउट भएका थिए । त्यतिवेलासम्म काठमाडौंको स्कोर बोर्डमा ६ रन मात्रै थियो ।
त्यसपछि, केही सम्हालिएको काठमाडौंले चौथो ओभरमा १३ रनमा अमित श्रेष्ठलाई गुमायो । उनी व्यक्तिगत ६ रनमा आउट भए ।
काठमाडौंका लागि केभिन ओ ब्रायनले भने सम्हालिएर खेले । उनले ३३ बलमा ३ चौका र २ छक्कासहित ४२ रन बनाएका थिए । यस्तै, सिद्धान्त लोहनी २१ र संसद शेखले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।
काठमाडौंलाई अल आउट गर्ने क्रममा पवन सर्राफले महत्वपूर्ण विकेट लिए । उनले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिएका थिए । यस्तै, रसिद खान र योगेन्द्र सिंह कार्कीले २–२ तथा सन्नी पटेलले १ विकेट लिएका थिए ।
यो जितसँगै ललितपुर तालिकाको पहिलो स्थानमा उक्लिएको छ । ४ खेलमा ३ खेल जितेको ललितपुरले ६ अंक बटुलेको छ भने, २ खेलमा एक खेल मात्रै जितेको काठमाडौं २ अंकसहित तालिकाको चौथो स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।