काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने ५ सय ३० जना कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ । केन्द्रले साउनयता १ सय ४० वटा कार्यालयमा गरेको अनुगमन ठीक समयमा कार्यालयमा नआउने ३ सय १८ र तोकिएको पोसाक नलाउने १ सय ६२ गरी ५ सय ३० जना कर्मचारीलाई कारबाहीको लागि सिफारिस गरेको छ ।
केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेका अनुसार कारबाही परेका कर्मचारीलाई विभागीय कारबाही गर्नका लागि सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइएको बताए । केन्द्रले गत आर्थिक वर्ष ५२ जिल्लाका एक हजार १ सय ४० कार्यालय अनुगमन गर्दा करिब दुई हजार ३ सय ४० जना कर्मचारीलाई समय पालना नगरेका र पोसाक नलगाउने कर्मचारीलाई कारबाहीको लागि सिफारिस गरेको थियो ।
यस्तै, केन्द्रमा अझै २ सय ३७ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन् । मुख्यमन्त्री कार्यालयबाट कात्तिक मसान्तसम्म केन्द्र स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति विवरण आउनुपर्नेमा नआएको केन्द्रका प्रवक्ता लामिछानेले जानकारी दिए ।
स्थानीय तहले पहिलोपटक सम्पत्ति विवरण बुझाउँदै छन् । स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति विवरण जिल्ला समन्वय समितिमार्फत मुख्यमन्त्रीमा जाने र मुख्यमन्त्रीबाट केन्द्रमा जाने गर्छ ।
केन्द्रका सम्पत्ति विवरण शाखाका एकराज पोखरेलले सबैभन्दा बढी प्रदेश नं २ का स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाएको बताए । उनका अनुसार सम्पत्ति विवरण बुझाउनका लागि केन्द्रले ताकेता गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।