निर्मलाका लागि न्याय
निर्मला पन्तको जन्मदिनः सरकारको बुद्धि फिरोस् भन्दै सडकमै हवन
बुबा यज्ञराज भन्छन्– कञ्चनपुर गएर फेरि धर्ना बस्छु

काठमाडाैं–गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको आज बुधबार जन्मदिन हो । २०६१ मंसिर २६ गते जन्मिएकी निर्मलाको बलात्कार गरी हत्या गर्ने अपराधी अहिलेसम्म पत्ता लाग्न सकेको छैन । अपराधी पत्ता लागाउनुपर्ने मागसहित कञ्चनपुर जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना बसेकै समयमा निर्मलाका बुबा यज्ञराज पन्तको स्वास्थ्य अवस्था बिग्रिएको थियो ।

धर्नाका क्रममा बिरामी भएपछि उपचारका लागि काठमाडौं शिक्षण अस्पतालमा ल्याइएका निर्मलाका बुबा यज्ञराज पन्तले फरकधारसँगको कुराकानीमा निराशा पोखेका छन् । 

उनले सरकारले अब न्याय दिनेमा आश मरिसकेको बताए । अहिले स्वास्थ्य अवस्थामा सुधार हुँदै गएपछि सामान्य अवस्थामा फर्किएका पन्तले निराश हुँदै भने, ‘अब न्याय पाइएलाजस्तो छैन ।’

निर्मलाको बलात्कारपछि हत्या भएको १ सय ४० दिन पुगेको छ ।

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयअगाडि निर्मलाकी आमा र अधिकारकर्मीले न्यायका लागि धर्ना सुरु गरेको आज १ महिना पूरा भएको छ । ‘एक महिनादेखि नसुतेरै न्यायका लागि धर्नामा छन्, तैपनि सरकार केही भन्दैन,’ यज्ञराजले सुनाए, ‘न्यायकै लागि गरिबको परिवार डुब्न थालिसक्यो ।’

९ मंसिरमा काठमाडौं आएका पन्त अहिले शिक्षण अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्य अवस्थामा अहिले केही सुधार देखिएको छ । शिक्षण अस्पतालले उनलाई आगामी सोमबार या मंगलबारसम्म डिस्चार्ज गर्न सकिने बताएको पन्तले सुनाए । 



गत भदौमा छोरीका लागि न्याय माग्दै काठमाडौं आएका पन्तले ‘कि गोली ठोक, कि न्याय देऊ’ भन्दै सरकारलाई गरेको प्रश्न फेरि दोहोर्याए । उनले न्यायको यो लडाइँमा आफू कहिल्यै नथाक्ने सुनाए । 

शिक्षण अस्पतालबाट डिस्चार्ज भएर गृहजिल्ला कञ्चनपुर गएर फेरि धर्ना बस्ने योजना बनाएको पन्तले फरकधारलाई सुनाए । ‘महेन्द्रनगर गएर फेरि धर्नामा बस्छु,’ उनले भने । निराशाबीच पनि दृढ स्वरमा उनले भने, ‘बरु म मर्न तयार हुन्छु, न्याय माग्न छाड्दिनँ ।’



१८ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत पन्तको उपचार खर्च गृह मन्त्रालयले बेहोर्ने भएको छ । उनको १८ दिनसम्मको उपचार खर्च करिब डेढ लाख रुपैयाँ भएको छ ।

सरकारको बुद्धि फिरोस् भन्दै सडकमै ‘हवन’

यता निर्मला पन्तको जन्मदिनको अवसर पारेर कञ्चनपुरका अधिकारकर्मीले ‘सरकारको सद्बुद्धिका’ लागि भन्दै हवन गरेका छन् । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयअगाडिको सडकमा अधिकारकर्मी र स्थानीयवासी मिलेर हवन गरेका हुन् ।

सरकारको बुद्धि फिरोस्, वास्तविक अपराधी सार्वजनिक गरियोस्, निर्मलाको आत्माले शान्ति पाओस् भन्दै सडकमै हवन गरिएको कञ्चनपुरकी अधिकारकर्मी शारदा चन्दले जानकारी दिइन् ।
 

  • प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार १७:५४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया