पल शाह पक्राउ गर्न पाँच प्रहरी टोली

नाबालिक किशोरीलाई बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीले पाँच विभिन्न टोली बनाएको छ । बुधबार तनहुँ जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध उजुरी परेको थियो । 

तर, बिहीबारसम्म उनी पक्राउ पर्न सकेका छैनन् । 

बुधबार उजुरी परेपछि उनी कीर्तिपुरमा गरिएको उनी अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ को प्रिमियरमा उनी पुगेनन् । उनी त्यहाँ जाने कार्यक्रम पहिले नै तय भएको थियो । प्रहरीले पनि उनलाई त्यही कार्यक्रमबाट पक्राउ गर्ने तयारी गरेको थियो । 

तर, उनी त्यहाँ नपुगेपछि उनलाई प्रहरीले खोजी गर्न थालेको छ ।

पललाई पक्राउ गर्नका लागि प्रहरीले ५ टोली बनाएको छ । यसका लागि सिआइबी, महानगरीय प्रहरी कार्यालय, महानगरी प्रहरी अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरका प्रहरी खटाएका छन् ।

पलविरुद्ध तनहुँमा किटानी जाहेरी परेको हो । बुधबार नै प्रहरीले उनलाई पक्राउ गर्ने योजना बनाइएको भए पनि उनी बिहीबार अबेरसम्म पक्राउ पर्न सकेका छैनन् ।



प्रहरीबाट पक्राउ पुर्जी जारी भएपछि पल शाह फरार भएका छन् । प्रहरीले एक गायिकामाथि पलले बारम्बार बलात्कार गरेको किटानी उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । बुधबारको उजुरीपछि पल शाहले अहिले आफ्ना अत्यन्त निकट साथीहरुको सम्पर्कमा पनि छैनन् ।

उनले बिहीबार विहान सामाजिक सन्जाल फेसबुकमा एउटा स्टाटस लेखेका थिए । त्यो स्टाटसमा उनले आफूलाई सहयोग पुग्ने मनासयमा केही अडियो क्लिपहरु पनि अपडेट गरेका छन् ।



झन्डै ४५ मिनेटको अडियो क्लिपहरुमा पलविरुद्ध कुराकानी भएको सुन्न सकिन्छ । पलले यो स्टाटसमा आफूविरुद्ध चार जनाले षडयन्त्र गरेको पनि जनाएका छन् । उनले गायक दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईं उनीविरुद्ध लागेको पनि उल्लेख गरेका छन् ।

पलले सार्वजनिक गरेको अडियोमा दुर्गेश थापालगायतको गायिका समीक्षा अधिकारीसँगको छलफल सुन्न सकिन्छ । उनीहरुले समीक्षालाई कसरी पलसँगको बिग्रिएको सम्बन्धलाई व्यवस्थापन गर्ने भन्ने विषयमा सिकाएको सुन्न सकिन्छ । अडियोहरु सुन्दा पलले समीक्षालाई पहिले विवाह गर्छु भनेर आश्वासन दिएको तर पछि धोका दिएको हुनसक्ने अनुमान पनि गर्न सकिन्छ ।

पलले यो स्टाटस र यी चार अडियोहरु सामाजिक सन्जालमा राखेपछि उनका प्रशंसकले उनको पक्षमा लेखिरहेका छन् । तर, उनले प्रमाण भनेर राखेका यी अडियो क्लिपले उनलाई मुद्दाबाट जोगाउन सक्ने भन्ने देखिँदैन । नेपालको कानुनले सहमतिमा नै भए पनि १८ वर्षमुनिका युवतीसँग सम्बन्ध राख्दा बलात्कार मान्छ । त्यसैले यो मुद्दामा पल शाह दोषी देखिने आधार बलियो भएको छ ।

यही विषयमा बुधबार दिउँसो तनहुँ प्रहरीमा समीक्षाका बाबुआमाले किटानी उजुरी दिएका थिए । उजुरी परेलगत्तै प्रहरीले पललाई पक्राउ गर्न परिपत्र जारी गरेको छ ।

यसअघि पलले आफैं प्रहरीमा जाने विषयमा छलफलसमेत गरेका थिए । तर, यो मुद्दामा आफू कमजोर देखिने निष्कर्ष निकालेसँगै उनी अहिले कसैको पनि सम्पर्कमा आएका छैनन् । 


  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार २२:५०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया