काठमाडौं– नेपाल निजामती कर्मचारी युनियन (संघ) ले सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितमा नभएको जनाएको छ ।
‘कर्मचारीसँग छलफल नै नगरी सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याएको छ’ बुधबार संघले राजधानीमा गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले भने, ‘सरकारले दुईतिहाइको दम्भका आधारमा कर्मचारी समायोजन अध्यादेश ल्याएको छ ।’
उनले थपे, ‘कर्मचारीसँग सम्बन्ध राख्ने अध्यादेश ल्याउँदा सरकारले हामीसँग कुनै छलफल गरेन, संविधान र संसद्लाई छलेर ल्याएको अध्यादेश सच्याउनुपर्छ ।’
कर्मचारीसँग छलफल नै नगरी ल्याएको अध्यादेशविरुद्ध आन्दोलन गर्ने बताउँदै अध्यक्ष पोखरेलले मुलुकको परिवर्तनका लागि निजामती कर्मचारीले ठूलो भूमिका खेलेको तर अहिले केही प्रशासकको इसारामा सरकारले उक्त अध्यादेश ल्याएको आरोप लगाए ।
सम्मेलनमा निजामती कर्मचारीको आधिकारिक संगठन ट्रेड युनियनका महासचिव सुबोधकुमार देवकोटाले संसद्लाई छलेर ल्याइएको कर्मचारी अध्यादेशविरुद्ध आन्दालेन गर्ने बताए । कर्मचारीको नाममा भ्रम सिर्जना गरेर बद्नाम गर्ने काम सरकारबाटै भएको उनको आरोप छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।