बागलुङ– धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले स्थापना गरेको ‘भूपि पुरस्कार’ साहित्यकार एवं त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीलाई दिइने भएके छ ।
२०७३ सालमा स्थापित उक्त पुरस्कार पहिलोपटक अनुसन्धानमूलक कृति ‘भूपिका कवितामा व्यङ्ग्यालङ्कार–चेतना’ का लागि त्रिपाठीलाई प्रदान गर्न लागिएको हो ।
१५ हजार रुपैयाँ राशिको सो पुरस्कार आउँदो पुस १० गते ८४औँ भूपि जयन्तीका अवसरमा प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ ।
त्रिपाठीका ‘बादल, धर्ती र आस्था’, ‘जीवनसूत्र र स्वप्नाभाष’ लगायतका साहित्यिक तथा अनुसन्धानमूलक कृति प्रकाशित छन् ।
भूपिका रचनामाथि समालोचनात्मक ढङ्गले लेखेकाले त्रिपाठीलाई पुरस्कृत गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताए ।
स्रष्टा र साहित्यिक संस्थालाई बर्सेनि आलोपालो गरेर पुरस्कार दिइनेछ । साहित्यिक संस्थालाई अक्षयकोषमा रकम राख्ने गरी पुरस्कार दिइने प्रतिष्ठानले जनाएको छ । भूपि पुरस्कार कोषमा हालसम्म ३ लाख ७० हजार जम्मा भएको छ । १ हजारदेखि माथि सहयोग गर्ने १२५ जना कोषका संस्थापक बनिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।