बिहीबारको संसद बैठकबाट एमसिसी फेल गराउने यस्तो रणनीति थियो माओवादी केन्द्रको

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले बिहीबार बोलाइएको प्रतिनिधि सभा बैठकमा नै अमेरिकी सहयोग योजना एमसिसी फेल गराउने गोप्य रणनीति बनाएको थाहा पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले संसद बैठक स्थगित गरेको खुलेको छ ।

यसअघि संसदीय दलको बैठक बस्दै नेकपा माओवादी केन्द्रले एमसिसी टेबल भएको खण्डमा नै आफूहरुले गठबन्धन छोड्ने निर्णय गरेको थियो । तर, माओवादी केन्द्रको यो निर्णयले देउवा टसमस भएनन् । उनले लगातार अडान लिएपछि संसदमा एमसिसी सम्झौता टेबल भएको छ । संसदमा एमसिसी टेबल भएपछि यसलाई पारित गर्न नहुने माग माओवादी केन्द्रले राख्दै आएको छ । 

बिहीबारको संसद बैठक स्थगित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर एमसिसी विफल बनाउन सहयोग गर्न अनुरोध गरेका थिए । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बारम्बार एमसिसी राष्ट्रघाती भएको त्यो छलफलमा बताएका थिए । 

अर्कोतिर, नेकपा एमालेले पनि एमसिसीको सन्दर्भमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई साथ दिने संकेत देखिएको छ । बिहीबार नै भएको छलफलमा कांग्रेस र एमाले सहमतिनजिक पुगेका छन् ।

बिहीबार दिउँसो एक बजेका लागि बोलाइएको संसद बैठक चाहिँ प्रधानमन्त्री देउवाले अनुरोध गरेकाले २ बजे स्थगित भएको सूचना टाँस गरिएको थियो । नेपाली कांग्रेसका एक नेताका अनुसार माओवादी केन्द्रले बिहीबार नै एमसिसी फेल गराउने रणनीति बनाएको गोप्य सूचना देउवाले पाएपछि उनले यो कदम चालेका थिए ।

‘माओवादी केन्द्रका सांसदले संसदमा उठेर सम्झौताको विषयमा मतविभाजनको माग गर्ने र सभामुखले मत विभाजनको प्रक्रिया सुरु गर्ने रणनीति माओवादी केन्द्रले बनाएको रहेछ,’ कांग्रेसका ती नेताले फरकधारलाई बताए, ‘सभामुख सापकोटाले माओवादी केन्द्रलाई साथ दिने भए पछि देउवाले संसद बैठक स्थगित गरेका हुन् ।’



यसका लागि माओवादी केन्द्रका २८ सांसदले उठेर प्रतिनिधि सभामा मत विभाजनको माग गर्ने योजनाबारे प्रचण्ड र सभामुख अग्निप्रसाद सापकोटाको बुधबार नै सल्लाह भएको पनि ती नेताको दाबी छ । प्रतिनिधि सभाको नियमावली २०७५ को नियम २९ अनुसार कम्तिमा २८ सांसदले मत विभाजन माग गरेमा प्रस्ताव पक्षधरले बहुमत सिद्ध गर्नु पर्ने हुन्छ ।

माओवादी केन्द्रले बिहीबारको संसद बैठकमा यही व्यवस्थालाई उपयोग गर्ने र एमसिसी फेल गराउने रणनीति बनाएको थियो । माओवादी केन्द्रको यो रणनीतिबारे देउवाले सुइँको पाएकाले उनले प्रतिनिधिसभा बैठक बिहीबार स्थगित गरेर नेकपा एमालेसँगको छलफललाई अगाडि बढाएको ती नेताले फरकधारलाई बताए ।



देउवाले यही रणनीति थाहा पाएकाले पनि नेकपा एमालेका नेताहरुसँगको बैठकमा माओवादीलाई यो प्रक्रियाबाट सिन आउट गर्ने कुरा गरेका थिए । ‘माओवादीलाई हामीले सिन आउट गरौँ,’ देउवाले नेकपा एमालेका अध्यक्ष केपी ओलीसहित नेताहरुलाई प्रस्ताव गरेका थिए, ‘देशलाई निकास दिन कांग्रेस एमाले सहकार्य गरौँ ।’

बिहीबारको बैठकमा मतविभाजनको माग गरेपछि एमालेको पनि उपस्थिति देखाउँदै सभामुखले एमसिसी बहुमतले फेल भएको निर्णय सुनाउने योजना माओवादी केन्द्रले बनाएको थियो ।

‘एमसिसीको पक्षमा कांग्रेस र लोसपा मात्र हुने थिए,’ ती नेताले भने, ‘संसदका क्रियाकलापमा एमालेको सहभागिता हुँदैन भन्ने थियो तर उपस्थिति छ भनेर सभामुखले एमसिसी फेल भएको घोषणा गर्ने योजना माओवादी केन्द्रको थियो ।’

तर, संसद बैठक स्थगित भएपछि माओवादी केन्द्रको यो योजनाले काम गर्न पाएन । संसद बैठक स्थगित भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्दै माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको समेत अफर गरेका थिए । 

नेकपा एमालेका सचेतक विशाल भट्टराईका अनुसार प्रचण्डले भेटमा आफूहरुले कांग्रेससँग सहकार्य गरेर गल्ती गरेको र अब देशमा हुने चुनावमा एमालेको नेतृत्वमा आफू जान तयार भएको बताएका थिए । ‘तर, अहिले माओवादी केन्द्रसँग हामी मिल्ने भन्ने कुरा सम्भावना बाहिरको कुरा हो,’ नेकपा एमालेका नेता खगराज अधिकारीले फरकधारलाई बताए ।


  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १०:४७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया