एजेन्सी- बेलायतको सत्तारूढ कन्जरभेटिभ पार्टीको नेतृत्वविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट सम्झौता र आफ्नो करिअर जोगाउन संघर्षरत बेलायती प्रधानमन्त्री थेरेसा मे तीन दिनको बीचमा दोस्रोपटक ब्रसेल्स पुगेकी छिन् ।
युरोपेली युनियनको मुख्यालयमा हुने वार्तामा युरोपेली मध्यस्थकर्ताहरूले प्रधानमन्त्री मेका पछिल्ला धारणाबारे विचारविमर्श गर्नेछन् । तर, यसअघि नै युरोपेली युनियनसँग भएको ५ सय ८५ पृष्ठको बहिर्गमनसम्बन्धी सम्झौतामा भने तत्काल कुनै परिवर्तन हुनेछैन ।
युरोपेली युनियनको शिखर बैठक बिहीबार बस्नेगरी तय भएको छ । बैठकमा युरोपेली युनियनमा आबद्ध देशका नेताहरु सहभागी हुने कार्यक्रम छ । गत २५ नोभेम्बरमा भएको युरोपेली युनियनको बैठकले बेलायतको बहिर्गमनसम्बन्धी सम्झौता (ब्रेक्जिट)लाई अनुमोदन गरेको थियो ।
तर, निकै लामो बहस र मध्यस्थतापश्चात सम्पन्न उक्त सम्झौता भएलगत्तै बेलायतमा नयाँ विवाद उत्पन्न भएको छ । सम्झौताका विषयमा बेलायती जनमत र संसदमा चर्को बहस हुनुका साथै दोस्रो जनमतसङ्ग्रह गर्नुपर्ने आवाज उठेको छ । साथै, प्रधानमन्त्री मेको नेतृत्व क्षमताका बारेमा पार्टीभित्र र संसदमा छलफल भइरहेको छ ।
पार्टीभित्र नेतृत्व बिबाद एक वर्षका लागि टुंगिए पनि ब्रेक्जिटलाई बेलायतको संसदले औपचारिक अनुमोदन गर्नुपर्ने चुनौती अद्यापि छ ।
‘बेलायतमा भएको छलफल हेर्दा परिस्थिति त्यति सहज देखिन्न, तर ब्रेक्जिटमा जटिलता नआओस् भन्ने हाम्रो चाहना हो । यसका निम्ति हाम्रो समर्थन रहन्छ,’ अस्ट्रियाका चान्सलर सेबास्टियन कर्जले बताए । अस्ट्रियाले अहिले युरोपेली युनियनको अध्यक्षता गरिरहेको छ । युरोपेली आयोगका अध्यक्ष डोनाल्ड टस्कसँग यसै साता बस्ने युनियनको शिखर बैठकका कार्यसूची तय गर्न उनी ब्रसेल्स पुगेका छन् ।
‘स्पष्टै छ, बहिर्गमन सम्झौतालाई छलफलमा ल्याइनेछैन र त्यसमा संशोधन पनि हुनेछैन, तर दुवै पक्षका सरोकारका विषयमा भने छलफल हुन सक्नेछ,” कर्जले भने ।
प्रधानमन्त्री मेले युरोपका तीन देशको भ्रमण गरी त्यहाँका नेताबाट ब्रेक्जिटका बारेमा समर्थन जुटाउने प्रयत्न गरेकी छिन् । युरोपेली आयोगका अध्यक्ष डोनाल्ड टस्कले पनि बेलायती प्रधानमन्त्रीलाई सहयोग गर्ने तत्परता देखाएका छन्, तर उनको एउटा प्रश्न छ, ‘त्यो कसरी ?’
बेलायतको ‘आपतकालीन सावधानी’का लागि गरेको आग्रह के हो भनी सोधिएको प्रश्नमा चान्सलर कर्जले भने, ‘उदाहरणका लागि बेलायतले चाहेको त्यो आपतकालीन व्यवस्था कहिलेसम्मका लागि हो ? त्यो कहिले समाप्त हुन्छ ?’
आयरल्यान्ड युरोपेली युनियनको सदस्य कायमै रहेको अवस्थामा आपतकालीन व्यवस्था हुनैपर्ने युरोपेली अधिकारीहरूकाे धारणा छ । ‘ब्रेक्जिटको अन्तिम मिति राख्न अब जरुरी देखिन्न,’ एक अधिकारीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।