प्रचण्डलाई बाबुरामको विकल्प : कि त एमसिसी पारित गर्न साथ दिनुहोस्, सकिँदैन भने सरकार छोड्नुहोस्
फाइल तस्वीर

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसिसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराईले संसदबाट एमसिसी पास गर्ने बेला आफूहरू बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि दाहाललाई चेतावनी दिए । उनले एमसिसी सम्झौता संसदमा रहेको कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने र त्यसको ठाउँका अर्को पार्टी आउने दाबीसमेत गरे । 

'मेरो विनम्र आग्रह छ । खासगरी मेरा पुराना मित्र प्रचण्डजीलाई । कि त तपाईंले यसलाई साथ दिनोस् १३८ पुर्या‍एर पारित गर्नोस् । होइने भने तपाई सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिर चाहिँ राष्ट्रवादभित्र चाहिँ राष्ट्रघात गर्न पाइँदैन । पहिलो विकल्प, तपाईंले साथ दिनुहोस् । होइन भने तपाईं जानोस्, त्यसको ठाउँमा अर्को आउँछ । हामी बहुमत पुर्याएर पारित गर्छाैं । हाम्रो स्पष्ट धारणा यो छ । लटरपटर कुरा हुँदैन’ उनले भने ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताए । उनले आफूहरू संसदबाट स्पष्ट बहुमत पुर्‍याएर सो सम्झौता पारित गराउन लागि परेको बताए । एमसिसी मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले पारित गरेर जानुपर्ने भट्टराईको तर्क थियो । उनले एमसिसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औँल्याए । 
 
'संसदमा ६८ जना भए कोरम पुग्छ । त्यसको आधा ३५ हुन्छ । अनि, ३५ जनाले पारित गर्ने ? यस्तो महत्वपूर्ण मुद्दामा हुँदैन । संसदको अहिलेको संख्या २७५ हो । भलै २७१ संख्या छ । यसको आधा १३८ हुन्छ । १३८ भन्दा माथि पुर्याएर नै यसलाई पास गर्नुपर्छ । त्योभन्दा तल लटरपटर कर्मकाण्ड गरियो भने जनतामाथि धोका हुन्छ । त्यसो गर्न पाइँदैन' उनले भने । 

भट्टराईले नेपालले चीन, भारत र अमेरिकालगायतका सबै देशको सहयोग लिएर मुलुकको विकास, समृद्धि र दीगो शान्तिका लागि काम गर्नुपर्ने दोहोर्याए । उनले एमसिसी सम्झौता आफ्ना लागि नभई राष्ट्रको हितमा भएकाले यसलाई पारित गर्न आफू लागि परेको बताए ।





  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार १५:३९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया