फोहोर व्यवस्थापन कला सिक्दै-सिकाउँदै अक्षराका विद्यार्थी

अक्षरा स्कुलका विद्यार्थी शुक्रवार विद्यालयमा हातमा जम्मा भए । कोहीले हातमा ‘प्लास्टिक प्रयोग नगरौं’ लेखिएको ब्यानर बोके । कोहीले हातमा कपडाको झोला बोके । अनि स्कुल वरिपरिका वस्ती काँडाघाडीमा र्‍यालीसहित घुमे । प्लास्टिक प्रयोग नगर्न अनुरोध गरे । प्लास्टिकको साटो कपडाको झोला प्रयोग गर्न सुझाव दिए । अनि झोला पनि वितरण गरे ।

स्कुलमा गठन भएको स्टुडेन्ट काउन्सिलको अगुवाइमा भएको थियो यो चेतनामुलक र्‍याली । प्लास्टिकले वातावरणमा के असर पर्छ भनेर उनीहरूले बुझाएका थिए । ‘आज हामीले काँडाघारी क्षेत्रमा प्लास्टिक नचलाऊँ भनेर  र्‍याली गर्यौं,’ कक्षा ७ का कृशव पोखरेलले भने, ‘स्कुलले उपलब्ध गराएको झोला हामीले टोलभरी बाँड्यौँ । यसले प्लस्टिक प्रयोग गर्नु हुँदैन भन्ने सन्देश दियो ।’

विद्यालयको एघरौ जन्मोत्वको अवसर पारेर विद्यार्थी यो कार्यक्रम आयोजना गरेका थिए । विद्यालयको वार्षिकोत्वको अवसरभन्दा बाहेक पनि विद्यार्थी वातावरण सुधारका लागि यस्तो अभियान चलाउने गरेका छन् ।

'फोहोर कसरी व्यवस्थापन गर्ने भनेर सबैलाई जानकारी हुनुपर्छ,’ कक्षा ७ कै महिमा जोशीले भनिन्, ‘फोहोर ठोस र तरल दुवै हुन्छ । यसलाई चिनेर कुन चाहिं काम लाग्ने हो, कुनचाहिं काम नलाग्ने हो भनेर छुट्याउनु पर्छ ।’

फोहोर ठोस र तरल गरी दुई किसिमका हुने बताउँछिन् कक्षा ७ मै पढ्ने आरुषी बस्नेत । ‘घर विद्यालयमा प्रयोग गरेर काम नलाग्ने भनेर फकिएका वस्तु नै ठोस फोहोर हुन्,’ उनले थपिन्, ‘जो काम नलाग्ने भनेर फालिएको हुन्छ, त्यो अर्को काममा प्रयोग हुन पनि सक्छ । ती फोहोर वस्तु कतै कच्चा पदार्थको रुपमा पनि प्रयोग हुन सक्छन् । प्लास्टिक, कागज, फलामका टुक्रा, सङका बट्टा, सिसाका बोतल जस्ता ठोस वस्तु अरु काममा प्रयोग हुन सक्छ भनेर अरुलाई पनि बुझाउने काम गर्छौं ।’



फोहोरले मान्छे कति सभ्य छ भनेर थाहा हुने कक्षा ७ मै पढ्ने शिभान शर्माले बताए । ‘सगरमाथा संसारकै अग्लो ठाउँ हो । सगरमाथा चढ्न मान्छे जान्छन् । तर, सगरमाथामा फोहोर भयो भने के हुन्छ ?,’ उनले भने, ‘ओहो कस्तो फोहोर रहेछ भन्ने हुन्छ नि । सगरमाथाको रक्षा गर्नु भनेको त्यसलाई फोहोर नगर्नु हो । हामी सिंगापुर कस्तो सफा भन्छौं । स्विजरलैण्ड पनि सफा रहेछ भनेर चर्चा हुन्छ । तर, नेपाल फोहोर रहेछ भनेर चिनियो भने के हुन्छ ? त्यसैले हामी सजग हुनु पर्छ । वातावरण जोगाउन हाम्रो भूमिका हुन्छ । हामी जति सफा भए पनि सगरमाथा फोहोर भयो भने हामी पनि फोहोरै देखिन्छौं ।’



फोहोर व्यवस्थापनबाट विद्यार्थीले शिक्षा पनि लिइराखेको बताए । शिक्षामा सत्यम्, शिवम र सुन्दरम गरी तीनवटा तत्व हुनु पर्ने भनेर आफूहरूले स्कुलमा सिकेको पोखरेलले बताए । ‘फोहोरबाट हामीले सत्यम्, शिवम र सुन्दरमको अभ्यास गरिराखेका छौं,’ पोखरेलले भने, ‘प्लास्टिकले वातावरण विनास गरेको छ । यो सत्यम भयो । प्लास्टिकलाई फेरि प्रयोग गर्नु भनेको शिवम् हो । शिवम् भनेको सेवा हो । प्लास्टिकलाई झोला बनाएर समाजलाई बाँड्नु सेवा हो । सुन्दरम् भनेको चाहिं नयाँ तरिकाले काम गर्नु हो । फोहोर मुक्त समाज बनाएर संचारलाई नै सुन्दर बनाउने सोच्नु चाहिं सुन्दरम् हो ।’

जलवायु परिवर्तनले पारेका असरलाई स्कुल स्तरबाट कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर प्रयास गरिरहेको स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराइले बताइन् । ‘विद्यालयमा पढ्ने विद्यार्थीले बुझे भने उनका अभिभावकले बुझ्छन् । कम्तीमा ६ सय विद्यार्थी र उहाँका अभिभावले मात्रै बुझ्नु भयो भने पनि यसको प्रभाव त निकै ठूलो हुन्छ,’ भट्टराइले भनिन् ।

विद्यालयले कोर्समै राखेर फोहोरको कसरी प्रयोग गर्ने भनेर सिकाइ राखेको छ । कक्षा २ र ३ का विद्यार्थीलाई कागजबाट कसरी झोला बनाउने भनेर सिकाइन्छ । ४ र ५ का विद्यार्थीलाई भने थोत्रा कपडाबाट झोला बनाउने तरिका सिकाइन्छ । ‘अनलाईन कक्षाले गर्दा झोला बनाउने सिकाइमा केही असर गर्‍यो, भट्टराईले भनिन्, ‘जलवायु परिवर्तनको असर कम गराउन स्कुलबाटै प्रयास गर्नु पर्छ ।

विद्यालयले १० वर्ष पूरा गरेको अवसरमा १० वर्ष शिक्षण गर्ने शिक्षकलाई सम्मानसमेत गरेको छ ।

  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार १८:४३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया