कांग्रेस अधिवेशन : कैलालीमा त्रिपक्षीय प्रतिस्पर्धा

नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । संस्थापन पक्षबाट दुई र डा. शिखर कोइराला समूहबाट एक प्यानल चुनावी मैदानमा उत्रिएको हो ।

जिल्ला अधिवेशअन्तर्गत शनिबार मनोनयन दर्ता भएकोमा जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।  संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा कोइराला पक्षबाट रामबहादुर कलेलको उम्मेदवारी परेको छ ।

यसअघि  सभापतिमा दाबी गर्दै आएका नेता भीम बडुवाल पछि हटेपछि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको हो । उनले संस्थापन पक्षबाट सभापतिका उम्मेदवार नारायणदत्त भट्टको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका छन् । उनको प्यानलबाट उपसभापतिमा रामप्रशाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन् ।

यस्तै बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेदवारी परेको छ ।

यस्तै कोइरालापक्षबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय ‘आगो’, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सह–सचिवमा रविन्द्रप्रताप सिंह र तीर्थराज जोशीको उम्मेदवारी परेको छ ।

संस्थापन पक्षका दुई वटा प्यानल भएपछि नेताहरु दुई खेमामा बाँडिएका छन् । संस्थापन पक्षका दुई हजार बढी मतदाता छन् । पहिलो चरणमा संस्थापन पक्षकै बम र भट्ट नै अगाडि आउने आंकलन गरिएको छ ।



प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले जिल्ला नेतृत्वका लागि उम्मेदवारहरूमध्ये कसैको नाम दिइनन् । तर, देउवा पत्नी आरुजु राणाले भने जनआन्दोलनका घाइते भट्टलाई पार्टी सभापति बनाउनेमा जोड गरेको कांग्रेस निकट स्रोतले जनाएको छ । नेता एनपी साउदको समर्थन पनि भट्टलाई छ ।

कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित कैलालीका ६ जना केन्द्रीय सदस्यमध्ये अधिकांशको समर्थन भट्टको पक्षमा खुल्नुले उनी बलियो उम्मेदवारका रूपमा देखापरेका पनि कतिपयको बुझाइ छ । प्रदेश सभापति वीरबहादुर बलयार पनि भट्टकै पक्षमा छन ।



कैलालीको जिल्ला निर्वाचनमा नेता एनपी साउद र रमेश लेखकका बेग्लाबेग्लै उम्मेदवारले गर्दा संस्थापन पक्षभित्र सहमति हुन नसकेको कांग्रेसीहरुको भनाई छ । प्रदेश महामन्त्री शाह रमेश लेखक पक्षधर भएकाले कैलालीको निर्वाचन पनि विभाजन भएको धेरैको बुझाई छ ।

सभापतिमा उम्मेदवारी दिएका नारामण भट्टको पक्षमा धनगढी उपमहानगरपालिकाका मेयर तथा कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, उपमेयर तथा केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट, केन्द्रीय सदस्य जिवन राना, इश्वरी न्यौपाने, डा. रणबहादुर रावललगायत खुलेका छन् ।

राष्ट्रियसभा सदस्यमा विजयी नारायणदत्त मिश्र पनि भट्टकै पक्षमा देखिएका छन् । उनी कांग्रेसभित्र पौडेल पक्ष मानिन्छन् । भट्टको पक्षमा प्रदेशसभा सदस्य टेकबहादुर रैका, पूर्व क्षेत्रीय सभापति हरिस खड्का, धनगढी नगर सभापति यज्ञराज उपाध्याय, क्षेत्र नम्बर ४ का सभापति बसन्त रोकाया लगायत छन् ।

कांग्रेस सुदूरपश्चिमका महामन्त्री तथा दुईपटक कैलाली जिल्ला सभापति भइसकेका वर्तमानमा सुदूरपश्चिम प्रदेश महासचिव नरनारायण शाह ‘मनु’ को कैलालीमा प्रभाव बलियो रहेको छ । शाहले भने जिल्ला सभापतिमा प्रकाशबहादुर बमलाई अगाडि सारेका हुन् । कैलाली क्षेत्र नम्बर ५ पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजुको निर्वाचन क्षेत्र पनि भएको हुँदा चासोका साथ हेरिएको छ ।

कैलालीमा कोइराला समूहको भोटर संख्या पनि धेरै कम छ । त्यसले गर्दा संस्थापन पक्षका नेताहरु बीच प्रतिस्पर्धा हुने देखिएको छ । जिल्ला कार्यसमितिको निर्वाचनमा २ हजार ५७२ मतदाता रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

कांग्रेस सम्बद्ध स्रोतका अनुसार मतदाता क्षेत्रीय प्रतिनिधिमध्ये पाँच सयको हाराहारीमा मात्रै कोइराला पक्षको मतदाता छन् । कोइराला समूहतिर चन्द्र सिंह भट्टराई र पूर्वपार्टी सभापति गोविन्दराज जोशीको पहलमा उम्मेदवारी दर्ता भएको हो । आइतबार बिहान ८ बजेदेखि  ४ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ

  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार २०:८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया