नेपाल र श्रीलंकाबीच पर्यटन प्रवर्द्धन गर्न साझा अवधारणामा जोड

काठमाडौं– नेपालका लागि श्रीलंकाका राजदूत स्वर्णा परेराले दुई देशबीच पर्यटन प्रवर्द्धन गर्न साझा अवधारणासाथ अघि बढ्नुपर्ने बताएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले नेपाल र श्रीलंकाबीच पर्यटन प्रवर्द्धनबारे आयोजना गरेको अन्तर्क्रियामा उनले पर्यटकीय दृष्टिले दुवै देश महत्वपूर्ण भएको बताए । 

राजदूत परेराले पर्यटक तान्न दुई मुलुकबीच सीधा हवाई सम्पर्क विस्तार गरी प्रवर्द्धनात्मक गतिविधिलाई तीव्रता दिइनुपर्ने खाँचो औँल्याए । सांस्कृतिक र धार्मिक रुपमा दुई देशबीच नजिकको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै उनले पारस्परिक हित र लाभका विषयमा भावनात्मक सहकार्य अभिवृद्धिमा जोड दिए । 

पर्यटन प्रवर्द्धन गर्न एक–अर्का देशबीचका ‘टुर अपरेटर’को सम्मेलन गराई प्रचारप्रसार गरिएको खण्डमा पर्यटक आवागमन वृद्धि हुनेमा राजदूत परेराको विश्वास छ । नेपाल र श्रीलंकाबीच सन् १९२० देखि कूटनीतिक सम्बन्ध स्थापना भएको हो । करिब ७४ बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलंकाबाट बर्सेनि भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा वार्षिक ५० हजारको हाराहारीमा श्रीलंकाका पर्यटक आउँछन् । 

श्रीलंकाको पर्यटन विकास प्राधिकरणका अनुसार सन् २०१६ मा ५७ हजार ५ सय २७ र सन् २०१७ मा ४५ हजार ३ सय ७१ पर्यटक नेपाल आएका थिए । यो संख्या अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले कमी हो । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नेपालबाट सन् २०१६ मा १२ हजार ८ सय ३८ र सन् २०१७ मा ५९ प्रतिशतले घटेर जम्मा पाँच हजार १ सय ४४ पर्यटक श्रीलंका पुगेका छन् । 

टानका अध्यक्ष नवराज दाहालले नेपाल र श्रीलंकाबीचको लामो कूटनीतिक सम्बन्धलाई पर्यटनको माध्यमबाट आपसी लाभ लिन सकिने उल्लेख गरे । उनले दुई देशबीचको पर्यटकीय सम्भावनालाई उजागर गर्दै प्रवर्द्धनका कार्यक्रमलाई हातेमालो साथ अघि बढ्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । 

छलफलमा सहभागी पूर्वपर्यटन राज्यमन्त्री यांकिला शेर्पा, टानका पूर्वअध्यक्ष चन्द्र रिजाल, पर्यटन व्यवसायी मोहन लम्साललगायतले दुवै मुलुकबीच पर्यटन प्रवर्द्धन गर्न साझा कार्यक्रम बनाएर जानुपर्ने सुझाएका थिए । दुई देशबीचको प्रवर्द्धनात्मक कार्यक्रमले सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्ष अभियानलाई सार्थक तुल्याउन महत्वपूर्ण सहयोग पुग्ने उनीहरुको भनाइ थियो । 





  • प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार १७:७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया