स्वास्थ्यमन्त्री खतिवडा र मुख्यसचिव बैरागीले गरे अंगदानकाे घोषणा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विराेध खतिवडा र नेपाल सरकारा मुख्यसचिव शंकरदास बैरागीले अंग दान गर्ने घोषणा गरेका छन् ।

राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव बैरागीले मुत्युपश्चात् अंग दान गर्ने घोषणा गरेका हुन् ।

कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अंग दान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गरे ।

उनले स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्नका लागि गाउँगाउँसम्म स्वास्थ्य केन्द्रहरू पुर्‍याउनुपर्ने भएकाेले थप जनशक्तिको आवश्यकता परिपूर्ति गर्ने पनि विश्वास व्यक्त गरे ।

मन्त्री खतिवडाले भने, ‘मैले अंगदान गर्ने घोषणा गरेँ, त्यसको लागि मालपोत कार्यालयमा कहाँ-कहाँ ल्याप्चे लगाउँछन्, सही गराउँछन्, त्यस्तै मैले कहाँकहाँ ल्याप्चे सही गर्नुपर्ने हो तयारी गरिदिनु होला । चुनौतीले अवसर दिन्छ भनेजस्तै हामीलाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुनको लागि गाउँगाउँसम्म स्वास्थ्य केन्द्रहरू पुर्‍याउन, स्वास्थ्य सामग्रीहरू पुर्‍याउन, अनेकौँ ढंगबाट भौतिक संरचनाहरू निर्माण गर्न, स्वास्थ्यमा थप जनशक्तिको आवश्यक्ता छ भन्ने कुरातर्फ ध्यान आकर्षण गराउन, यी हरेक क्षेत्रमा यो बीचको केही अवधिमा निकै राम्रो प्रगति गरेका छौँ । प्रगति गर्ने क्रममा नै छौँ ।’

त्यस्तै, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले आफू अंग दान गर्न इच्छुक रहेको र आगामी दिनमा स्वेच्छिक धारणाहरू सार्वजनिक गर्ने बताए । 



मुख्यसचिव बैरागीले स्वास्थ्य सेवालाई उचाइमा पुर्‍याउन खुला, पारदर्शी, व्यवस्थित ढंगबाट छलफल गरेर सरकारले धान्न र बोक्न सक्नेसम्मको सेवासुविधा बिस्तार गर्नेदेखि ऐन, कानून मिलाउने कुराहरुमा आफ्नो प्रत्यक्ष भूमिका रहने पनि बताए ।

उनले भने, ‘म अंगदान गर्ने घोषणा गर्न चाहन्छु । यसमा धेरै स्वेच्छिक धारणाहरू आउनेछन् । कहाँकहाँ लिखित के गर्नुपर्छ, त्यसको प्रवन्ध राम्रोसँग गरेर राख्नुहोला । स्वास्थ्य पूर्वाधार र जनशक्ति विकासको सन्दर्भमा यो दुई वर्षमा हामीले उल्लेख्य प्रगति गरेका छौँ । जनशक्ति र अन्य पूर्वाधारका कुराहरू अघि लैजान ठोस कार्ययोजना लिएर हामी अघि बढ्यौँ भने मलाई लाग्छ, जनशक्ति र पूर्वाधार विकासमा उल्लेख्य फड्को मार्न सक्छौँ । यो स्वास्थ्य सेवाको व्यवस्थापन, कर्मभारीको समायोजनदेखि लिएर यहाँ जति पनि विषयहरू उठे त्यसको विषयमा समीक्षा गर्नको लागि आज नै स्वास्थ्य मन्त्रालयका सचिवज्यूको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, कानुन मन्त्रालय लगायतका मन्त्रालयहरूको टोली प्रतिनिधित्व रहनेगरी काम गर्ने प्रवन्ध मिलाउनेछु ।’



स्वास्थ्य सेवाको व्यवस्थापन, कर्मचारीको समायोजन लगायतका विषयहरूमा समीक्षा गर्नको लागि प्रधानमन्त्रीको कार्यालय, अर्थ, स्वास्थ्य, कानुन मन्त्रालयको प्रतिनिधित्व रहनेगरी काम गर्ने प्रवन्ध मिलाउने प्रतिवद्धतासमेत उनले जनाए । 

यस वर्ष सरकारले गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिवद्धता भन्ने मुल नारासहित स्वास्थ्य सेवा दिवस मनाएको छ ।  

  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १२:३५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया