मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलन
‘प्रधानमन्त्री कार्यालयमा आइन्स्टाइन चाहियो !’

काठमाडाैं– ‘आज गाली होइन, खाजा खानुहोस् ।’ मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलबाट बाहिरिने क्रममा एक पत्रकारको मुखबाट निस्केको यो वाक्य केहीबेर ख्यालठट्टाको विषय बन्यो । 

वास्तवमा यो ठट्टा मात्र थिएन । किनभने, यसअघिका पत्रकार सम्मेलनमा रिपोर्टिङ गर्न गएका पत्रकारमाथि सरकारका प्रवक्ता अरिंगालजस्तै खनिन्थे । 

त्यही ‘ह्याङओभर’सहित सिंहदरबार पुुगेका पत्रकार आज भने फरक माहोलमा मन्त्रिपरिषद्का निर्णय सुनेर निस्किएका थिए ।

यसअघि, मंसिर १३ र २० गतेको पत्रकार सम्मेलनमा सञ्चारमाध्यम र पत्रकारप्रति अक्रोश पोखेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा आज भने सामान्य देखिए ।

यसअघिका पत्रकार सम्मेलनमा उनले नेपाली मिडिया फेक न्युज प्रोडक्सन कम्पनी बनेको आरोप लगाएका थिए । यति मात्रै होइन, उनले मिडियाको अस्तित्व नै खतरामा रहेको जिकिर गरेका थिए ।

आजको पत्रकार सम्मेलनमा भने बाँस्कोटाले सञ्चारमाध्यमसँग आफ्नो सम्बन्ध रचनात्मक रहेको भन्दै सरकार मिडियासँग सौहार्दपूर्ण सम्बन्ध राख्ने मार्गमा रहेको बताए । उनले भने, ‘हाम्रो कुनै मिडियाप्रति आग्रह वा पूर्वाग्रहको सम्बन्ध छैन । हाम्रो त रचनात्मक सम्बन्ध हो ।’



‘प्रधानमन्त्री कार्यालयमा आइन्स्टाइन चाहियो !’

सरकारले स्वास्थ्य मन्त्रालयमा चिकित्सा क्षेत्रभन्दा बाहिरका व्यक्तिलाई सचिव नियुक्त गरेको भन्दै स्वास्थ्य मन्त्रालयका कर्मचारी र चिकित्सकले विरोध जनाइरहेका छन् । सरकारले स्वास्थ्य ऐनविपरीत सचिव नियुक्त गरेको चिकित्सकको आरोप छ । 



यही विषयमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले सरकारले सबै प्रक्रिया पूरा गरेरै सचिव नियुक्तिको निर्णय गरेको बताए । स्वास्थ्य मन्त्रालयमा पनि प्रशासन हुने भएकाले योग्य व्यक्ति नै सचिवको रुपमा नियुक्त गरिएको उनले बताए ।

चिकित्सकहरुले चिकित्सा क्षेत्रको मान्छे नै सचिव हुनुपर्ने माग गरिरहेका छन् । चिकित्सकको मागप्रति व्यंग्य गर्दै मन्त्री बाँस्कोटाले भने, ‘त्यसो भए सञ्चार मन्त्रालयमा इन्जिनियर सचिव चाहिन्छ । भौतिक मन्त्रालयमा त झन् महाको इन्जिनियर चाहिन्छ, खानेपानीमा पनि सेनिटेसनको इन्जिनियर चाहियो, ऊर्जा मन्त्रालयमा हाइड्रोलोजिस्ट चाहियो होला ।’ 

बाँस्कोटा यत्तिमै रोकिएनन् । उनले प्रश्न गरे, ‘यसरी भन्ने हो भने त प्रधानमन्त्री कार्यालयमा कस्तो सचिव चाहिन्छ होला ?’ जवाफ पनि मन्त्री बाँस्कोटासँग नै थियो । उनले जवाफ दिए, ‘हाम्रो अघिल्लो शताब्दीको महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनजस्तो दिमाग भएको मान्छे मूख्यसचिव चाहिन्छ ।’

चिकित्सकहरु भने चिकित्सा क्षेत्रको मान्छे सचिव नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् । आन्दोलन गर्छौं भनिरहेका चिकित्सकलाई संकेत गर्दै मन्त्रीले भने, ‘अब आन्दोलन गर्छौं भनिरहनुभएको छ । हामीले नगर्नुहोस् मात्रै भन्ने हो । तर, स्वास्थ्य सेवा, खाद्य क्षेत्र र टेलिकम्युनिकेसनजस्ता अत्यावश्यक क्षेत्रमा आन्दोलन गर्दा कुन कानुन प्रभावित भएर आउला, तपाईंहरुले विचार गरेर आउनुहोला ।’ 

प्रधानमन्त्री क्रिस्चियानिटीको प्रवक्ता होइनन्  

मन्त्री बाँस्कोटाले एसिया प्यासिफिक सम्मेलनमा सरकारको उपस्थितिलाई लिएर बुद्धिजीवीले अतिरञ्जित गरेको आरोप लगाए । ‘सेटानिक भर्सेस दोहोर्याउन खोजेका हुन् कि जस्तो लागिरहेको छ,’ सलमान रुस्दीको किताब सेटानिक भर्सेसको उदाहरण दिँदै मन्त्री बाँस्कोटाले भने, ‘सलमान रुस्दीले सेटानिक भर्सेस लेखेपछि जसले आफूलाई सेकुलारिजमको प्रवक्ता ठान्थे, उनीहरुले नै सेटानिक भर्सेस सार्वजनिक भएपछि किताबमाथि प्रतिबन्ध लगाउनुपर्छ भनेका थिए ।’

एसिया प्यासिफिक सम्मेलनसँग प्रधानमन्त्रीलाई जोडेर अतिवादी सोच विकास गर्न खोजिएको उनको आरोप थियो ।

मन्त्री बाँस्कोटाले यो प्रसंगलाई थप प्रस्ट पार्दै प्रधानमन्त्रीलाई केही समयअघि ब्राह्मणवादको प्रवक्ता भन्नेहरुले नै आज क्रिस्चियानिटीको प्रवक्ता भनिरहेको आरोप लगाए । 

प्रधानमन्त्री ओली कुनै धर्मको प्रवक्ता नभएको उनले प्रस्ट्याए । बाँस्कोटाले भने, ‘हिजो बाहुनवादको प्रवक्ता, आज क्रिस्चियानिटीको प्रवक्ता, यस्तो हुन सक्दैन ।’

सञ्चारमाध्यमले एसिया प्यासिफिक सम्मेलनको विरोध गरेकोतर्फ संकेत गर्दै मन्त्री बाँस्कोटाले सरकारले आफूलाई ठीक लागेका कुरा गर्ने बताए । उनले भने, ‘हामी पनि आफूलाई लागेका कुरा भन्छौँ र गर्छौं, तपाईंहरु पनि सत्य तथ्य लेख्नुहोस् ।’

  • प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार १९:२०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया