बिजुलीमाया वन : श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार दीपक जङ्गमलाई प्रदान गरिने

भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको विजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जङ्गमलाई प्रदान गरिने भएको छ । 

आइतबार हेटौंडामा प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै पुरस्कार दीपक जङ्गमलाई दिने जानकारी गराएकाे हाे ।

हेटौंडा व्यवसायी-समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नाममा बिजुलीमाया वन : श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेका हुन् । २०६४ सालदेखि प्रतिष्ठानको व्यवस्थापनमा हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिँदै आएकाे छ ।

२०१० सालमा भक्तपुरमा जन्मिएका संगीतकार जङ्गमले हालसम्म चार हजारभन्दा बढी गीतमा संगीत भरेका छन् भने दुई सयभन्दा बढी गीतमा आफ्नो स्वर दिएका छन्.

फागुन २७ गते शनिबार एक विशेष समारोहका बीच संगीतकार जङ्गमलाई उक्त पुरस्कार प्रदान गरिने छ । उक्त पुरस्कार सँगसँगै अन्य १० वटा पुरस्कार पनि प्रतिष्ठानको व्यवस्थापनमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष ह्यग्रिव आचार्यले जानकारी दिए । 

बिजुलीमाया वन : श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट २०६४ सालमा अम्बर गुरुङलाई पहिलो पटक पुरस्कृत गरिएको थियो । त्यसयता प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, न्हुच्छे बहादुर डंगोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मोलाई संगीत पुरस्कार प्रदान गरिएको छ ।



पत्रकार सम्मेलनमा प्रतिष्ठानका सल्लाहकार तथा वरिष्ठ संगीतकार तुल्सी थापा, मुक्तिगोविन्द वैद्य, सुशिला मानन्धर, उपाध्यक्ष विष्णुगोपाल महर्जन, कोषाध्यक्ष निरा शर्मा, सचिव ह्यग्रिव आचार्य, पुरस्कार स्थापना गर्ने समाजसेवी तथा संगीतप्रेमी  कन्हैयाकृष्ण श्रेष्ठ, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको उपस्थिति रहेको थियो ।

को हुन् दीपक जङ्गम ?



बुवा गोविन्दहरि जङ्गम र आमा जमुनादेवी जङ्गमका कोखबाट विसंं. २०१० साल स्वस्थानी पूर्णिमाका दिन भक्तपुरको टौमढीमा उनको जन्म भएको हाे । दीपक जङ्गम नेपालका वरिष्ठ संगीतकार तथा गीतकार हुन् । उनले किन किन तिम्रो तस्विर, गाजलु ती ठूलठूला आँखा, एउटा मान्छेको मायाले कति‍ लगायतका चर्चित गीतहरूको संगीत गरिसकेका छन् । 

यतिमात्र नभई उनी एक कुशल गायक पनि हुन् । बाल्यकालदेखि नै नाट्य र संगीतमा रुचि राखेका जङ्गमको २०१९ सालमा ब्युँझाइदेऊ नयन बोलको गीत रेडियो नेपालमा रेकर्ड भएकाे थियाे । उक्त गीतमा उनकाे आफ्नै रचना, संगीत र स्वर रहेको थियाे ।

  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १६:१२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया