शिक्षकको कुटाइबाट म्याग्दीको बेनीस्थित प्रकाश माविका एक विद्यार्थीको करङ भाँचिएको छ । लेखा विषयका शिक्षक नवीन घिमिरेको कुटाइबाट कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको करङ भाँचिएको हो ।
शिक्षक घिमिरेले कक्षा कोठामै पाइपले निलडाम र चोट पर्ने गरी टाउको र ढाडमा पिटेको पौडेलले बताए । ‘विनाकारण सरले पाइपले पिट्नुभयो, अफिसमा गएर कुरा गरौँ भन्दा पनि मान्नुभएन,’ उनले भने, ‘बोल्न र सास फेर्न गाह्रो भएको छ ।’
पौडेलका अनुसार उनीसहित कृष्ण तामाङ, निशान गर्बुजा, रुपेश बोहोरा र विपन पुर्जालाई पनि शिक्षक घिमिरेले शुक्रबार दिउँसो यातना दिएका थिए ।
बान्ता गर्ने, खाना नखाने, सास फेर्न गाह्रो हुने र दुखाइ बढेपछि शनिबार साँझ बेनी अस्पतालमा एक्सरे र स्वास्थ्य परीक्षण गरिएको थियो । उनको टाउको सुन्निएकाले शनिबार राति नै पोखरा लगेर कालीगण्डकी डायग्नेस्टिक एण्ड रिसर्च सेन्टरमा सिटीस्क्यान गरी बिहान बेनी ल्याइएको थियो ।
बेनी अस्पतालका चिकित्सकले करङ भाँचिएको पुष्टि गरेर आराम गर्न र औषधि दिएका छन् । पौडेलका बुबा भीमप्रसाद पौडेलले मर्यादा विपरीत बाल मनोवैज्ञानिक असर पर्ने गरी यातना दिने शिक्षक घिमिरेलाई कारबाहीको माग गर्दै आज विद्यालयमा निवेदन दिएका छन् ।
पौडेल प्रकाश माविमा तीन वर्षदेखि अध्ययनरत थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।