काठमाडौं– अघिल्लो वर्षको तुलनामा यो वर्षको ११ महिनामा ४३.४६ प्रतिशत बढी चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०१७ को ११ महिनामा ९३ हजार ६ सय ५४ पर्यटक आएका थिए भने सन् २०१८ को ११ महिनामा १ लाख ३४ हजार ३ सय ६२ चिनियाँले नेपाल भ्रमण गरेका तथ्यांक छ ।
त्यसो त अघिल्लो वर्षको तुलनामा सन् २०१८ को ११ महिनामा १६।८७ प्रतिशत बढी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पर्यटन बोर्डका अनुसार यो वर्ष नोभेम्बरसम्म १० लाख १ हजार ९ सय ३० पर्यटक भित्रिएका छन् । गत वर्षको सोही अवधिमा ८ लाख ५७ हजार २ सय ५२ पर्यटकले नेपालको भ्रमण गरेका थिए ।
सधैंजस्तै यो वर्ष पनि सबैभन्दा धेरै भारतीय पर्यटकले नेपालको भ्रमण गरेका छन् । ११ महिनामा १ लाख ७८ हजार १ सय ३० भारतीयले नेपालको भ्रमण गरेका हुन् । अघिल्लो वर्षको सोही अवधिमा १ लाख ४४ हजार ३ सय ७९ भारतीय नेपाल आएका थिए । यो अघिल्लो वर्षको सोही अवधिको भन्दा २२ प्रतिशतले धेरै हो ।
यस्तै, सबैभन्दा धेरै पर्यटक आउने तेस्रो स्थानमा अमेरिका रहेको छ । यो ११ महिनामा अमेरिकाबाट ८२ लाख ८ सय ७० पर्यटक आएको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा ७३ हजार ६ सय ५० अमेरिकी नेपाल भ्रमणमा आएका थिए ।
यस्तै, बेलायतबाट ५७ हजार ५ सय ५५ पर्यटकले ११ महिनामा नेपालको भ्रमण गरेका छन् भने जर्मनीबाट ३४ हजार ४ सय ७९ पर्यटक आएका छन् । अघिल्लो वर्षको सोही अवधिमा बेलायतबाट ५० हजार ६ सय ५२ पर्यटक आएका थिए भने २८ हजार ७ सय २ जर्मन पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।