देवघाट गाउँपालिका-३ का वडाध्यक्ष कृतिमान आलेको भिरबाट लडेर मृत्यु भएको छ । चार दिनदेखि हराइरहेका वडाध्यक्षको शव आइतबार घरभन्दा माथि गोन्द्राङ्ग पाखा भन्ने भिरमा फेला परेको साराङघाट इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक एक नारायण आचार्यले जानकारी दिए ।
वडाध्यक्षको निधनमा गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ । वडा कार्यालयका कार्यालय सहायक अनिरुद्र काफ्लेका अनुसार वडाध्यक्ष आले बिहीबार बेलुका साढे ५ बजे कार्यालयको काम सकेर घर जान्छु भनी हिँडेका थिए ।
पार्टीको कामले बिहीबार दमौली जान लागेको भनेर घरबाट निस्किएकाले उनको त्यसदिन बेलुका खोजी नभएको परिवारले बताएको छ ।
तीन दिनदेखिको खोजीको क्रममा वडा अध्यक्षको शव आइतबार अपरान्ह ४ बजे गाउँलेहरूले फेला पारेका हुन् । गाउँलेहरूले वडाध्यक्ष आलेको शव ५० मिटरभन्दा तल भिरबाट निकालेका थिए ।
घटनास्थलको सर्जिमिन मुचुल्कापछि शवको पोस्टमार्टमको लागि दमौली लगिएको प्रहरी नायव निरीक्षक एक नारायण आचार्यले बताए ।
नेपाली कांग्रेस देवघाट गाउँपालिका–३ वडा समितिको पूर्व सभापतिसमेत रहेका वडाध्यक्ष आले सरल र शान्त स्वभावका व्यक्ति थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।