सुदूरपश्चिमका पहाडमा हिमपात: जनजीवन प्रभावित, कृषक खुसी

बैतडी- मौसममा आएको परिवर्तनका कारण बिहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको बैतडी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । 

यस्तै बझाङको साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, छबीसपाथीभेरा गाउँपालिका र बुंगल नगरपालिकाको माथिल्लो भेगमा हिमपात पनि भएको छ । दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङकरलगायतका ठाउँमा समेत हिमपात भएको स्थानीय प्रेम चुनाराले जानकारी दिनुभयो । दार्चुलाका उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात भएको छ । 

डडेल्धुराको भीमदत्त राजमार्गको शाहुखर्क, हगुल्टेलगायतका स्थानमा हिमपात भएको स्थानीय प्रकाश पार्कीले जानकारी दिए । उता, बाजुराको उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ । वर्षासँगै हिउँ परेर चिसो बढे पनि बाली सप्रिने भन्दै किसानहरू खुसी भएका छन् ।

हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा, बालबालिका तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन् । बुधबारदेखि एक्कासि मौसम बदली भई पानी परेपछि बिहीबार हिमपात भई यहाँका साधारण तथा स्थानीयवासी चिसोले प्रभावित बनेका हुन् । 

लामो समयसम्म वर्षा नहुँदा हिउँदेबाली बिग्रने चिन्तामा रहेका पहाडी भेगका किसानलाई भने हिमपातले राहत पुर्याएको छ । लामो समयको खडेरीपछि पानी परेकाले बाली सप्रिने दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताए ।





  • प्रकाशित मिति : मंसिर २८, २०७५ शुक्रबार १२:२६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया