व्याख्यात्मक घोषणाको उपाय खोज्दा झलनाथ र नारायणकाजी मसँगै हुनुहुन्थ्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘व्याख्यात्मक घोषणा’ को उपाय खोज्दै जाँदा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ आफैसँग रहेको उल्लेख गरेका छन् । 

एमसिसी सम्झौता संसदमा अनुमोदन गरेपछि पत्रकार सम्मेलन गर्दै उनले गठबन्धन तोड्ने, सरकार बदल्ने काम हुन थालेपछि उपायको खोजीमा हिँडेको प्रष्ट पारे ।

एमसिसी सम्झौता पनि पास हुने र गठबन्धन पनि नटुट्नेगरी डा. अर्जुनबाबु थापाले आफूलाई उपाय दिएको प्रचण्डको भनाइ थियो । 

‘गठबन्धन तोड्ने, सरकार बदल्ने आदि इत्यादितिर चाँहि अगाडि बढ्न थाल्यो । बढेपछि यो त फेरि चिन्ताको विषय, पुरानो ठाउँमा जाने खतरा भएपछि हाम्रो पार्टीमा भएका छलफलहरूमा मैले केही उपाय खोज्नुपर्छ है । हामीले एकोहोरो चाँहि भनेर सम्पूर्ण प्रक्रियालाई दुर्घटनामा जानेतिर सोच्न सकिँदैन’, प्रचण्डले अघि भने, ‘केही सकारात्मक उपाय छ भने त्यतातिर सोच्नुपर्छ भनेर मेरो क्लिक पोहोर सालै एउटा प्रस्ताव पारित गरौं भनेको कुरामा भयो । यही उपाय खोज्ने क्रममा पुराना एकजना कर्मचारी, धेरै समयसम्म परराष्ट्रसचिव हुनुभएको डा. अर्जुनबहादुर थापासँग भेटियो । केही उपाय हुनसक्छ भन्ने छलफल गर्दा उहाँले थोरै उपाय मलाई बताउनुभयो । त्यतिबेला म, झलनाथ खनाल र नारायणकाजी सँगै थियौं । ती कुरा सुन्दै जाँदा यहाँनिर रहेछ है बाटो भनेर बुझियो ।’

उनै थापाको कुरा सुन्दै जाँदा अन्तर्राष्ट्रिय कानुनमा भए अनुसार भियना कन्भेन्सन अनुसार व्याख्यात्मक घोषणाको बाटो खोजेको उनले बताए । 

उनले भने, ‘उहाँको कुरा सुन्दै जाँदा अन्तर्राष्ट्रिय कानुनको र दुई देशबीचको सम्झौता सन्धि ऐन अनुसार आउने हकमा भियना कन्भेन्सन अनुसार एउटा पक्षले आधिकारिक ढंगले व्याख्यात्मक घोषणा गर्‍याे भने अर्को पक्षले मान्नुपर्छ, अन्तर्राष्ट्रिय अदालतमा पनि मान्यता हुन्छ भन्नुभयो  र हामीलाई ज्यादो देखिएजस्तो भयो । लगत्तै पछि कानुनविदहरूसँग पनि कुरा भयो ।’ 



तयसपछि गोविन्द बन्दीसँग भेट गरेर त्यसबारे छलफल भएको उनले सुनाए । 

‘गोविन्द बन्दीसँग पनि यसबारे छलफल भयो । उहाँले पनि यो चाँहि बाटो छ भनेर बताउनुभयो । त्यही क्रममा गगन थापाहरू पनि यो विषयमा लागिरहनु भएकाे छ भन्ने थाहा पाइयो । त्यहाँ पनि कुरा गरियो । यसलाई बिनासर्त यथास्थितिमा सम्झौता अनुमोदन गर्न नपर्ने । यो महाकालीमा गरेको जस्तो संकल्प नहुने रहेछ भन्ने भयो’, प्रचण्डले भने ।



  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १६:४९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया