Wed, 27 Mar, 2019


बालबालिकालाई नाटक गराउँदा ‘एक्सप्रेसन’मा बढी ध्यान दिनुपर्छ
टंक चौलागाईं
फरकधार / मंसिर २९, २०७५

केही समय अघिसम्म विद्यालयमा बालबालिकाका लागि भनेर गायन र नृत्यका कक्षा मात्र हुने गर्थे । अहिले बालबालिकालाई लक्षित गर्दै नाटक पनि सिकाउन थालिएको छ । रंगमञ्चका अघिल्ला पुस्ताहरूले विद्यालयमा नाटकको ‘प्रोडक्सन’मा मात्र काम गर्नुभएको थियो । बालबालिकालाई क्लास नै दिने भनेर कुनै पनि विद्यालयमा व्यवस्था थिएन । 

पछिल्लो समय बालबालिकालाई नै लक्षित गरेर नाटकको पाठ्यक्रम निर्माण भएको छ । रंगमञ्चका केही साथी मिलेर विद्यालयमा बालबालिकालाई क्लास दिने गरेका छन् । पाठ्यक्रममा एकरूपमा नभए पनि आ–आफ्नो पक्षबाट नाटकको प्रशिक्षण दिइरहेका छन् । 

पछिल्लो समय नाटकप्रति बालबालिकामा रुचि बढिरहेको छ । अभिभावक र बालबालिका दुवैले रंगमञ्चप्रति झुकाव राख्न थालेका छन् । अभिभावक पनि उत्साहित छन् । थिएटरमा काम गर्ने कलाकारको अभिनय र उनीहरूले गरेको चलचित्र हेरेपछि आमाबाबुको झुकाव बढेको देखिन्छ । फिल्ममा आफ्ना बालबालिकालाई लगाउने भन्दै अभिभावकको रुचि नाटकप्रति बढिरहेको छ । बालबालिका पनि फिल्म र अभिनयप्रति निकै प्रभावित भएका छन् । 

बालबालिकाले बालबालिकाकै लागि गरिने नाटकलाई बालनाटक भन्न रुचाउँछु । तर, त्यो मात्र पनि होइन । बालबालिकालाई लक्षित गरेर ठूलाहरूले गरेको नाटक पनि बालनाटक हो । हामीले अहिले पढाइरहेको पाठ्यक्रम भने बालबालिकाहरूले बालबालिका र ठूलाका लागि गर्ने नाटक हो । त्यति मात्र भन्दा पनि परिभाषा संकुचित हुन जान्छ । 

नाटकको विषयवस्तु गहन हुन सक्छ । नाटकलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा मुख्य हो । बालबालिकालाई देखाउने नाटकको विषयवस्तु गहन भएपछि त्यसलाई उनीहरूले बुझ्ने तरिकाले प्रस्तुत गर्नुपर्छ । सरल रूपमा अभिनय र विषयवस्तु प्रस्तुत गरिएमा त्यो बालनाटक हुन सक्छ ।

बालबालिकालाई बोलेर बुझाउन कठिन हुन्छ । उनीहरूको बालमस्तिष्कले त्यस्ता कुरा बुझ्दैन  । एकछिन ध्यान दिए पनि केही समयपछि चल्न थाल्छन्, यताउता गर्न थाल्छन् । उनीहरूलाई बुझाउन शरीरको प्रयोग गर्नुपर्छ । ‘एक्सप्रेसन’मा अलि बढी ध्यान दिनुपर्छ । अरूलाई सिकाउँदा नाटकमा संवाद र ‘एक्सप्रेसन’ दुवैलाई उत्तिकै ध्यानमा राख्ने भए पनि बालबालिकालाई नाटक गराउँदा ‘एक्सप्रेसन’मा बढी ध्यान दिनुपर्छ । 

मैले सहभागिता जनाएका थिएटर फेस्टिभल तथा महोत्सवमा बालनाटकलाई बढी ध्यान दिएको पाएको छैनँ । नेपाललगायतका छिमेकी देशहरूमा पनि बालबालिकालक्षित रंगमञ्चका काम महोत्सवमा मात्र सीमित भएको छ । नेपालमा त झन् त्यस्तो काम भएकै छैन । गायन र नृत्यमा केही काम भएको छ, तर नाटकको सन्दर्भमा त्यति काम भएको छैन । महोत्सवबाहेक अन्य समयमा बालबालिकालाई लक्षित भएर काम गरिएको देखिँदैन ।

नेपालको सन्दर्भमा पनि अवस्था त्यस्तै छ । महोत्सव मात्रलाई हेर्दा धेरै भएका छन् । ‘शैली’ नामक समूहले बालबालिकालाई लक्षित गरेर महोत्सव गर्ने गरेको छ । संगीत नाट्य समूह तथा नाचघरले गर्ने अन्य नाट्य महोत्सवको तुलनामा बालनाटक महोत्सव शून्य गतिमा भएको छ । 

एक दशकजति अगाडि पाठ्यक्रम विकास केन्द्रले बालनाटक प्रतियोगिता गराएको थियो । एक वर्षपछि त्यो पनि गर्न बन्द भयो । ‘पम्पकिन थिएटर’ले कुनै समयमा बालबालिकाका लागि काम गरेको थियो । 

साइपाल कलेजको हलमा बालबालिकालक्षित लोककथा तथा बालकथामा आधारित नाटक गर्ने गरेको थियो । तर, पछि सरोज अर्याल र सहज सहदेव अमेरिका गएपछि त्यो पनि बन्द भयो । ‘थिएटर मल’ खोलिँदा पनि त्यसको लक्ष्य बालबालिकाका लागि थिएटर भन्ने थियो । तर, पछि त्यो पनि पूरा भएन । त्यसपछिको अवस्थामा बालनाटकलाई लिएर कामहरू भएका थिएनन् । 

केही समयको अन्तरालमा नवराज बुढाथोकीले महोत्सव गर्न थाल्नुभएको थियो । गुरुकुलले पनि आफ्नो अन्तिम वर्षमा ‘विद्यालय थिएटर फेस्टिभल’ गरेको थियो । पछि गुरुकुलसँगै त्यो पनि बन्द भयो । गुरुकुल बन्द भएपछि केही समय बालनाटकलक्षित महोत्सव बन्द भए । पछि शैलीले महोत्सव सुरु गर्यो जसबाट फेरि बालनाटकले स्थान लिन थाल्यो ।

राष्ट्रियस्तरमा केही महोत्सव भए पनि अन्तर्राष्ट्रियस्तरका बालनाटक महोत्सव निकै कम भएका छन् । अन्तर्राष्ट्रियस्तरमा महोत्सव नभएको समयमा हाम्रो समूहले पहिलोपटक अन्तर्राष्ट्रिय बालनाटक महोत्सव गर्यो । यो वर्ष तेस्रोपटक महोत्सव हुँदै छ । बालबालिका भेला गरेर थिएटरमा जस्तै किसिमले सिकाउने प्रक्रिया कतै पनि गरिएको छैन । विभिन्न विद्यालयमा सिकाउने काम भए पनि थिएटरमा नै सिकाउने काम शून्य छ । 

‘लालाबाला’ सुरु गर्दादेखि हामीले पहिलो पुस्ता उत्पादन गरेका छौं । सहरमा बालबालिकालाई अभिनय सिकाउनुपर्छ भनेर केही आमाबाबुमा चेतना आएको छ । काठमाडौंमा भएका थिएटरहरूमा अन्य क्लास भएजस्तो बालनाटक सिकाउने क्लास भएको छैन ।

धेरैजसो विद्यालयमा बालबालिकालाई नाटक सिकाउने काम शिक्षकले गरिरहेका छन् । त्यस्तो अवस्थामा बालबालिकामा नाटकमा हुने कुनै पनि ज्ञान आउँदैन । आफूलाई सिकाउनुपर्ने विषयवस्तु मात्र बालबालिकालाई बुझाइन्छ । अभिनयलगायतका विषयमा कुनै ध्यान दिएको पाइँदैन । 

तर, थिएटरकै मान्छे गएर सिकाउने विद्यालयमा नाटकका कुरा आउँछन् । बिम्ब, शिल्प, कला, अभिनयमा चाहिने विभिन्न विषय सिकाउने गरेको पाइन्छ । कुनै कुरा सांकेतिक रूपमा पनि प्रयोग गरिएको हुन्छ । रंगमञ्चको सबै कुरा प्रयोग गरेर बालबालिकालाई सिकाइएको हुन्छ । त्यसकारण उनीहरूले नाटकमा चाहिने र प्रभाव पार्ने तत्त्वबारे बुझ्न पाउँछन् । हामी थिएटरमा पढेकै कुरा सिकाउने गर्छौं ।

अहिलेका बालबालिका निकै गहन विषयमा पनि सोच्न सक्छन् । तर, यहाँ बालबालिकालाई नाटक भन्नासाथ ‘फेयरी टेल्स’ र ‘कार्टुन’ मात्र भन्ने बुझ्नेहरू छन् । जुन कुनै पनि पक्षबाट राम्रो होइन । पछिल्लो समयमा यस्ता विषयमा केही कमी पनि आएको छ । 

बालबालिकालाई गहन विषयमा सरल तरिकाले नाटकमा ल्याउनु जरुरी छ । बालबालिकाले गहन विषयमा सोच्न सक्दैनन् भन्ने सोच्नु एकदम गलत हो । बालबालिकालाई अभिनयमार्फत सामाजिक विषयमा ल्याउनु जरुरी छ । समाजमा भएका विषयमा उनीहरूको ध्यान पनि जान थालेको छ । 

बालबालिका घरमा कार्टुन हेरेर त्यस्तै विषय खोजिरहेका हुन्छन् । तर, बालनाटकको अर्थ त्यो हुँदैन । त्यसैले, बालबालिकालाई बुझ्ने तरिकाले विकास गर्दै सामाजिक तथा अन्य विषयमा उनीहरूलाई ल्याउन जरुरी हुन्छ । 

हामीले मिलेर स्थापना गरेको ‘विद्यालय थिएटर नेपाल’ बाट सबै बालबालिकालाई अभिनय सिकाउन एउटै कोर्स बनाउने कुरा पनि उठेको थियो । घिमिरे युवराज डेनमार्कबाट फर्किएपछि त्यो विषयमा सर्वनाममा एउटा मिटिङ राख्नुभएको थियो । तर, त्यहाँ उठेको विषयमा कसैको पनि ध्यान गएन । त्यो विषय त्यहीँ सेलायो ।

अहिले बालबालिकालाई नाटकमा रुचि राख्ने गरी हुर्काईयो भने भोलिको दिनमा सचेत दर्शक उत्पादन हुन्छन् । आजको समयमा नाटकमा रुचि राख्ने बालबालिका भोलि गएर राम्रो रंगकर्मी हुन्छन् । 

तर, बालबालिकालाई लक्षित भएर कुनै पनि काम भएको छैन । काठमाडौं र बाहिर भएका सबै थिएटरले आफ्ना लागि मात्र काम गरिरहेका छन् । समग्र रंगमञ्चका लागि काम गरिरहेका छैनन् । विद्यालयमा बालबालिकालाई नाटक सिकाउने प्रचलन थिएटरमा पनि हुनु आवश्यक छ ।

नेपालबाहिरको कुरा गर्दा त्यहाँ थिएटरलाई लिएर विभिन्न विषयमा पढाइ हुने गरेको पाइन्छ । तर, नेपालमा सैधान्तिक कुरा मात्र पढाइ भइरहेको छ । ‘पर्फमिङ आर्ट’सँग सम्बन्धित विषय पढाइ हुने ठाउँ नै छैन । चलेका थिएटरहरूले यसमा पहल गर्नुपर्ने हो, तर त्यो भएको छैन । त्यसैले विद्यालयमा नाटक पढेर तथा सिकेर आएको बालबालिका विद्यालय सकिएपछि अलपत्र पर्छ । विभिन्न नाम चलेका थिएटरमा पनि उनीहरूलाई चाहिनेजस्तो काम भइरहेको छैन । थिएटर पढ्ने ठाउँ छैन । 

६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकालाई अभिनय सिकाउने चाहना अहिलेका अभिभावकले देखाएका छन् । तर, उनीहरू रंगकर्मी बनुन भन्ने चाहना कसैको पनि छैन । धेरैजसोको चाहना आफ्नो बालबालिकाले चलचित्रमा खेलुन् भन्ने देखिन्छ । अहिले नै आफ्ना बालबालिका कुनै विज्ञापनमा देखियोस् वा कुनै चलचित्रमा सानो भए पनि रोल पाओस् भन्ने धारणा धेरै आमाबुबाको छ । 

रंगमञ्चका लागि यो कुरा नकारात्मक हो । तर, बालबालिकाले नाटकका बारेमा बुझ्दै गएपछि भोलि आफू चलचित्रमा जाने कि नाटकमा जाने भन्ने छान्न सक्छ । आफूलाई मन लागेको ठाउँमा जान सजिलो हुन्छ । अभिभावकमा थिएटर राम्रो विधा हो भन्ने चेतना नभए पनि बालबालिकामा त्यो चेनता विकास गर्न सकिन्छ । बालबालिकामा अहिले भएको चेनता पछि गएर परिवर्तन पनि हुन सक्छ । 

मान्छेले सोच्न सक्ने क्षमता वृद्धिका लागि पनि नाटकको विकास हुनुपर्छ । सरकारी पक्षको आशा गर्ने हो भने केही पनि हुन सक्दैन । राजधानीमा पनि पूर्ण रूपमा विकास हुन नसकेको बालनाटकलाई अन्य ठाउँमा विकास गर्नु अर्को एउटा चुनौती हुन्छ । 

राजधानीबाहिरको अवस्था हेर्दा बालनाटक मात्र होइन, बालसाहित्यको पनि विकास राम्रोसँग भएको छैन । नाटकले कलाका अन्य पक्षसँग पनि सरोकार राख्ने गर्छ । जसकारण बालनाटकको मात्र विकास हुन्छ भन्न पनि सम्भव छैन ।

महोत्सव भए पनि नाटक नै भने भएको देखिँदैन । रंगकर्मी भएको नाताले म पनि ठूलाकै नाटक मात्र गरिरहेको छु जस्तो लाग्छ । ‘माधवी’, र ‘ययाती’ दुवै नाटक ठूलाका लागि केन्द्रित थिए । नेपाली रंगमञ्चमा बालबालिकाका लागि नाटक गर्ने जोखिम आजसम्म कसैले पनि लिएको छैन । मैले पनि त्यो जोखिम लिन सकेको छैनँ । कस्तो नाटक गर्ने, कसरी गर्ने भन्ने दुविधा मलाई पनि छ । रंगमञ्च आफैंमा यसरी बाँचिरहेका बेला बालनाटक गर्छु भन्नु कम चुनौतीपूर्ण छैन । 

काठमाडौंमा भएका धेरैजसो विद्यालयले ‘क्रिएटिभ थिएटर’  पढाइरहेका छन् जसले गर्दा बालबालिकाकेन्द्रित काम भएको देखिन्छ । त्यसबाहेक हेर्ने हो भने, कुनै पनि थिएटर वा विद्यालय छैनन्, जसले बालबालिकालाई अभिनय र रंगकर्म सिकाउँछ । तर, त्यतिले मात्र पनि हुँदैन, हरेक विद्यालयमा थिएटर बन्नुपर्छ । 

बालबालिकाकै लागि भनेर थिएटर पनि खुल्नुपर्छ । हामीले अहिले पढाउँदा पाठ्यक्रम पनि यताउता बनाएर पढाइएको छ । पाठ्यक्रम एउटै बनाएर पढाउनु जरुरी छ । बालनाटकमा काम गर्नेहरूले एक्लैले धेरै विद्यालयमा काम गरिरहेका छन् । यसलाई पनि ध्यान दिनुपर्छ ।
 



यो पनि नछुटाउनुहोस्