कैलालीमा राप्रपा अध्यक्ष लिङ्देनले सयौँलाई पार्टी प्रवेश गराए

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिने राजनीतिक दलका आलाकाँचा व्यवहारका कारण इतिहासमा पहिलोपटक वैदेशिक मामिलामा नेपाललाई विवादित बनाउने काम भएको बताएका छन् । 

सोमबार कैलालीको सुक्खडमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आमनागरिकको तहमा समेत बहस भइरहेको एमसिसीजस्तो संवेदनशील परियोजनालाई सत्ता गठबन्धन टिकाउने र भत्काउने विषय बनाएकोमा आपत्ति प्रकट गरेका छन् । 

‘ठूला भनिने दलको गलत कार्यशैलीका कारण आज अन्तर्राष्ट्रिय रुपमा नेपालको विश्वसनीयता कमजोर भएर गएको छ, अध्यक्ष लिङ्देनले भने, ‘यसको क्षति कांग्रेस, एमाले र माओवादी केन्द्रले मात्रै होइन, देशले व्यहोर्नुपर्नेछ ।’ 

अध्यक्ष लिङ्देनले देशको विद्यमान समस्याको समाधान सामान्य टालटुल गरेर नहुने भन्दै प्रणालीमा आमुल सुधार गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले राजनीतिलाई कमाइ खाने माध्यम बनाउनेहरुबाट देशलाई खतरा रहेको र पार्टीहरुले कार्यकर्तालाई उत्पादनसँग जोड्नुपर्ने बताए । 

महामन्त्री डा.धवल शमशेर राणाले देश असफल हुने दिशातिर अघि बढिरहेको र राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको आवश्यकता बढेर गएको बताए ।

कार्यक्रममा पार्टीका नेता पूर्वमन्त्री जयन्त चन्द, प्रवक्ता ज्ञानेन्द्र शाही, सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशीलगायत नेताले सम्बोधन गरेका थिए ।



कैलालीको लम्की र सुक्खडमा आयोजित आमसभाका क्रममा विभिन्न पार्टी परित्याग गरी सयौँको संख्यामा राप्रपामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् ।

कैलाली र कञ्चनपुरमा हुने विभिन्न आमसभालाई सम्बोधन गर्न अध्यक्ष लिङ्देन र राप्रपाका शीर्ष नेता सुदूरपश्चिम क्षेत्रमा छन् ।



  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार २१:१९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया