२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

सुदूरपश्चिम प्रदेशका प्रमुख जोशी गृहजिल्ला बाजुरामा, निष्पक्ष सेवा दिन निर्देशन

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी यतिबेला गृहजिल्ला बाजुरा पुगेका छन् । प्रदेश प्रमुख भएपछि उनी पहिलोपटक गृहजिल्ला बाजुराको भ्रमणमा आएका हुन् । 


एक साता लामो भ्रमण तालिका बनाएर सोमबार बिहान मात्रै उनी बाजुरा आइपुगेका हुन् । बाजुरा जिल्लाले प्राप्त गरेको हालसम्मकै सरकारी ओहोदाको उपल्लो राजकीय पद भएकोले जिल्लावासी खुसी छन् । जिल्लावासीसँगको भेटघाट तथा अन्तर्क्रिया र साक्षात्कारसहितको भ्रमण लिएर प्रमुख जोशी बाजुरा आएका हुन् ।



नेपाली कांग्रेसबाट २०४८ सालको आम निर्वाचन र २०६४ सालको संविधानसभा निर्वाचन जितेका जोशीले निष्ठा र इमानको राजनीतिक छवि बनाएका थिए । गठनबन्धको नेतृत्वको सरकारले जोशीलाई प्रदेश प्रमुख बनाएको थियो । प्रदेश प्रमुख भएलगत्तै गृहजिल्ला आउने रहर भएर पनि समय व्यवस्थापन गर्न सक्दा ढिलाइ भएको प्रदेश प्रमुख जोशीले बताए ।

सरकारी सेवामा रहेका निजामती कर्मचारीले नागरिकलाई निष्पक्ष र तटस्थ रहेर सेवा दिन प्रदेशका प्रमुख जोशीले निर्देशन दिएका छन् । गृहजिल्ला बाजुरा भ्रमणका क्रममा सदरमुकाम मार्तडीमा कर्मचारी मिलन केन्द्रले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले विगतमा कर्मचारीले राजनीतिक दबाबका आधारमा जनताको सेवा प्रवाह गर्ने प्रवृत्ति भएको बताए । 



उनले भने, ‘राजनीतिक दबाबभन्दा पनि नागरिकलाई दिने कार्यालयका सेवा सहज रुपमा प्रवाह गर्नुपर्ने भएकाले कर्मचारीको सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनमा महत्वपूर्ण भूमिका रहेको छ । प्रदेश र संघ सरकारले बनाएका नीति तथा ऐन सहज रुपमा नागरिकसम्म पुर्याउन कर्मचारीले इमान्दारी देखाउनुपर्छ ।’ 

कर्मचारी संयन्त्र स्थायी भएकाले संघ, प्रदेश र स्थानीय सरकारले बनेका नीति नियम, नियमावली र ऐन, कानुनबमोजिम कार्यान्वयमा गर्नुपर्ने प्रमुख जोशीको भनाइ थियो । 



  • प्रकाशित मिति : १६ फागुन, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया