बेइजिङ– चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच अर्जेन्टिनामा भएको वार्ता र यसपछिका निरन्तरका प्रयासको प्रभाव सकारात्मक देखिएको छ । यसै सिलसिलामा चीनले व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्ने र समस्याको समाधान निकाल्न तयार रहेको बिहीबार जनाएको छ ।
विश्वका दुई विशाल अर्थतन्त्रबीच व्यापार, साइबर आक्रमण र चिनियाँ टेलिकम हुवावेकी आर्थिक मामिला प्रमुख मेङ वाङझाओको क्यानडामा भएको पक्राउ र अमेरिकालाई सुपुर्दगी गर्ने विषयले दुई देशको सम्बन्धमा समस्या देखिएको छ । यद्यपि, मेङलाई क्यानडाबाटै धरौटीमा रिहाइ गरिएको छ ।
‘हाल दुवै देशका सरकारहरू निकट सम्पर्कमा रहेका छन् । चीनले अमेरिकालाई समस्या समाधानार्थ वार्ताका लागि चीनमा स्वागत गर्न वा अमेरिका जान खुला धारणा राख्न तयार छ,’ वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले पत्रकारसँगको नियमित भेटमा बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्प र सीबीच गत डिसेम्बरमा ९०–दिन व्यापार युद्धलाई रोक्ने र विवादलाई साम्य पार्ने पहल थाल्ने सहमति भएको थियो । तर, उनीहरूबीच सहमतिका बुँदाबारे फरक–फरक धारणा आएका छन् । वासिंग्नका अनुसार चीनले अमेरिका पठाउने कारहरूमा कर कटौती गर्न र सोयबिन तथा भटमास र अन्य अमेरिकी उत्पादनलाई ठूलो मात्रामा खरिद गर्न तयार रहेको बताउँदै आएको छ ।
गाओले भने, ‘चिनियाँ र अमेरिकी समूहहरू वार्ताका लागि निकटमा रहेर निरन्तर वार्ता गरिरहेका र विवादका विषयमा सहज वातावरण बनिरहेको छ ।’ सुरक्षा विषयमा देखिएका बढ्दा समस्याले व्यापार वार्तालाई प्रभावित पार्ने देखिएको छैन ।
क्यानडाले हुवावेकी अधिकारी मेङलाई पक्राउ गरेको वदलामा चीनले दुई क्यानेडाली नागरिकलाई सोमबार चीनबाट पक्राउ गरेको राजनीतिक विश्लेषकहरूको अनुमान रहेको छ । यद्यपि, यसबारे चीनको भनाइ आइसकेको छैन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बुधबार म्यरिअट होटेलबाट चीनले व्यापक अमेरिकी तथ्यांकहरू ‘ह्याक’ गरेको आरोप लगाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।