सुर्खेतको वीरेन्द्रनगरमा सोमबार साँझबाट लागेको कर्फ्यु जारी छ । आइतबार संसदबाट अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएपछि सोमबार आह्वान भएको बन्दका क्रममा केही बन्दकर्ताहरूले राजनीतिक दलका कार्यालय र प्रहरी बिटमा आगजनीका साथै तोडफोड भएपछि सुर्खेतमा कर्फ्यु लगाइएको हो ।
सोमबार नेकपा एमालेको पार्टी कार्यालय र प्रहरी बिटमा आगजनी तथा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा तोडफोड भएको थियो ।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर क्षेत्रमा अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले सोमबारबाट कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु आदेश मंगलबार बेलुका ७ बजेसम्मका जारी रहने भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
कर्फ्यु आदेश उलंघन नगर्न आग्रह गर्दै हिँडेका प्रहरीमाथि आज बिहान केही युवाले ढुङ्गामुढा गरेका थिए । प्रहरीमाथि ढुंगामुढा गर्ने दुईजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।
उनका अनुसार सोमबार १९ जनालाई नियन्त्रणमा लिइएको थियो । आज वीरेन्द्रनगर बजारक्षेत्रमा करिब ४ सय सुरक्षाकर्मी खटाइएको छ । अहिले वीरेन्द्रनगर बजार क्षेत्र सुनसान छ ।
प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट सोमबार साँझ घाइते भएका वीरेन्द्रनगर–६ का ३८ वर्षीय होटल व्यवसायी रणबहादुर डाँगीलाई थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।
तस्बिरमा हेर्नुस् कर्फ्युपछिको वीरेन्द्रनगर :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।