एमसिसी अनुमोदन भएपछि माओवादीमा मतभेद, कसरी हुँदैछ समाधानको प्रयास ?

यतिबेला नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरू सामाजिक सञ्जालमा आफ्नै दुई शीर्ष नेतालाई लिएर विभाजित जस्तै बनेका छन् । केहीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केलाइरहेका छन त केहीले विघटित कमिटीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई । 

खासमा अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित भएपछि चर्चाको शिखरमा छन्, नेता श्रेष्ठ । माओवादीकै सहयोगमा संसदबाट एमसिसी पारित भएपछि श्रेष्ठले त्यो दिनलाई ‘कालो दिन’ नै घोषणा गरे । सत्ता गठबन्धन जोगाउने अन्तिम अस्त्रको रूपमा प्रचण्डले प्रयोग गरेको ‘व्याख्यात्मक घोषणा’लाई श्रेष्ठले सुनियोजित भ्रमका रूपमा व्याख्या गरेका छन । 

जुन कुरा अध्यक्ष स्वयं प्रचण्डलाई मन परिरहेको थिएन । सोमबार दिउँसो उनैले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नारायणकाजीको नामै लिएर आलोचना गरे । उनले एमसिसीको विरोध गरेकै भरमा जनता आफूतिर आउँछन् भन्ने नसोच्न आग्रह गर्दै महाकाली सन्धिका बेलामा वामदेव गौतमले पार्टी फुटाउँदा हालत सम्झाइदिए । 

श्रेष्ठ​ पहिल्यैदेखि एमसिसी यथास्थितिमा संसदबाट पारित गन नहुने मध्येका ‘हार्डलाइनर’ नेता हुन् । अझ पछिल्ला सत्तारुढ गठबन्धनका बैठकमा समेत नबोलाइ एक्लाएक्लै निर्णय प्रचण्डले गर्न थालेपछि आक्रोशित उनी भएका थिए ।

एमसिसी अनुमोदनको विपक्षमा रहेका नेताहरूको असन्तुष्टिलाई लिएर आगामी केन्द्रीय कमिटीमा समेत छलफल हुनेगरी कुरा अघि बढाइएको बुझिएको छ । केन्द्रीय कमिटी बैठक २० फागुनमा काठमाडौंमा बस्ने तय भएको छ ।

समाधान प्रयास



शीर्ष नेताहरूबीच नारायणकाजी र प्रचण्डबीच देखिएको यो विवाद निरुपण गर्नका लागि दौडधूप सुरु भएको बुझिएको छ । माओवादी सचिवालय निकट एक नेताका अनुसार दुई नेताहरूबीचको समस्या मिल्ने गरी समाधानको प्रयास भइरहेको छ । 

पार्टीमा उठेका फरक मतहरूलाई स्विकार गर्न नसकेर प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिनु गलत भएको नारायणकाजी खेमाका नेताहरूको बुझाइ छ । उता, पार्टीले संकट समाधान गर्न गरेको निर्णयको विपक्षमा उभिनुअघि केन्द्रीय कमिटीमा आफ्नो धारणा श्रेष्ठले राख्नुपर्ने प्रचण्डनिकटका नेताहरूको भनाइ छ । 



यही दुई बुझाई समाधान हुनेगरी नेताहरूबीच कन्भिन्सको प्रयास भइरहेको एक नेताले बताए । 

सामाजिक सञ्जालमा सक्रिय कार्यकर्ता

एमसिसी सदनबाट पारित हुनुपूर्व माओवादीका नेता कार्यकर्ताहरू सडकमा व्यस्त थिए । अहिले उनीहरू पार्टीको लाइनबारे सामाजिक सञ्जालमा बहस गरिरहेका छन । 

प्रचण्ड र नारायणकाजीकै विषयलाई लिएर पनि उनी निकटकाहरू फरकफरक तर्क गरिरहेका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव तथा प्रवक्ता जिपी मैनालीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमसिसीका बारे आइतबार पार्टी नेतृत्वले गरेको निर्णय विल्कुलै सहि र जमिनी यथार्थमा टेकेर गरिएको निर्णय हो । त्यसैले कोही कमरेडहरू भ्रमित हुन जरुरी छैन ।’

उनले यो बेलामा पार्टी नेतृत्वलाई झिरले रोप्ने समय नभएको पनि उल्लेख गरेका छन् । ‘यो समय पार्टी नेतृत्वलाई आलोचनाको झिरले रोप्ने समय होइन, बरु यो समय पार्टी र नेतृत्वले गरेको निर्णयमा नेतृत्वको साथमा एकीकृत भइ उभिने बेला हो,’ उनले भनेका छन । 

अध्यक्ष प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले भनेकी छिन्, ‘धेरै विचार र विवेक पुर्‍याएर आजको यो निर्णयमा पुगिएको हो । संयमित भएर परिस्थितिको गाम्भीर्यतालाई बुझौँ । नेता कार्यकर्ता तहमा नेतृत्वको विरुद्ध केही भ्रम पैदा गराउन खोजिएको छ सचेत होऔं ।’

माओवादी केन्द्रले आठौं महाधिवेशन सकिएको महिनौं बितिसक्दा पनि अझै कमिटीलाई पूर्णता दिन सकेको छैन । धेरै आकांक्षी हुँदा १५ जनाको पदाधिकारी अहिलेसम्म टुंगो लाग्न सकेको छैन । 

लगत्तै, एमसिसीको विषयले सडक तताउन व्यस्त माओवादी केन्द्र एकाएक पार्टीभित्रको असन्तुष्टिले गाँजिएको जस्तो देखिएको छ । प्रचण्डले नारायणकाजीलाई पत्रकार सम्मेलनमार्फत नै वामदेवको बाटो नरोज्न भन्दै अर्थपूर्ण सन्देश दिएका छन् ।

  • प्रकाशित मिति : फागुन १७, २०७८ मंगलबार १३:३८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया