प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसदबाट पारित भइसकेकाले यसलाई कार्यान्वयन गरेर लैजानुको विकल्प नरहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले देशको हित हुनेगरी सो सम्झौता पारित नगरे आफ्नो पार्टीलाई सैह्य नहुने चेतावनी समेत दिए ।
सो सम्झौताबारे मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले देशको विकासको पक्षमा, सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधिनताको पक्षमा अलिकति पनि कुनै पनि प्रावधानले तलमाथि नपर्ने गरी त्यसलाई कार्यान्वयन गरेर अघि बढाउन सरकारलाई सचेत गराए ।
यदि कुनै हिसाबले देशको सार्वभौमसत्तामा, स्वाधीनतामा, स्वतन्त्रतामा वा हाम्रो राष्ट्रिय हितमा, राष्ट्रिय स्वाभिमानमा कहीँ पनि तलमाथि पार्न खोजियो भने नेकपा एमालेलाई त्यो मान्न हुन नसक्ने अध्यक्ष ओलीको भनाइ थियो ।
अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक रूपमा नै मृत भइसकेको एमसिसी सम्झौतालाई संसदबाट पारित गर्न दिएर अर्को गम्भीर गल्ती गरेको आरोप लगाए ।
३ वर्ष अगाडि, ६ वटा जति अधिवेशन अगाडि अधिवेशनमा पेश गरिएको भनिएको प्रस्तावलाई अहिले पेश नै नगरी गैरकानुनी ढंगले मृत्य प्रस्ताव, अस्तित्वमा नरहेको प्रस्ताव अस्तित्वमा छ भनेर तथाकथित छलफल गर्ने र निर्णय गर्ने असंवैधानिक र गैरकानुनी काम फेरी पनि सभामुख सापकोटाले सरकारलाई गर्न लगाएको अध्यक्ष ओलीको दावी थियो ।
उनले सरकारले पनि सो सम्बन्धमा संसदमा नयाँ प्रस्ताव नल्याएर गल्ती गरेको बताए ।
यहाँ ३ वर्ष अगाडि ६ वटा जति अधिवेशन अगाडि अधिवेशनमा पेश गरिएको भनिएको प्रस्तावलाई अहिले पेश नै नगरी गैरकानुनी ढंगले मृत्य प्रस्ताव, अस्तित्वमा नरहेको प्रस्ताव अस्तित्वमा छ भनेर तथाकथित छलफल गर्ने र निर्णय गर्ने असंवैधानिक र गैरकानुनी काम फेरी पनि सभामुखले गराउनु भयो । फेरी पनि सरकारले गैरकानुनी काम गर्यो । हामी यो कुरा किन भनिराखेका छौं भने हामीलाई लोकतन्त्रसँग, संविधानसँग मतलव छ' उनले भने ।
संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणाको एमसिसीसँग कुनै सम्बन्ध नरहेको अध्यक्ष ओलीले स्पष्ट पारे । उनले सत्तारुढ दलहरुले आफ्नो लाज छोप्न, नेपाली जनतालाई अल्मल्याउन व्याख्यात्मक घोषणा संसदबाट पारित गरेर ठगी धन्दा चलाएको तर्क समेत गरे ।
उनले भने, ‘एमसिसीको व्याख्यात्मक घोषणासँग कुनै सम्बन्ध छैन । यो लाज छोप्नका लागि ल्याइएको हो । व्याख्यात्मक घोषणा नेपाली जनतालाई झुक्याउने, अलमल्याउने, धोका दिने एउटा ठगी धन्दा हो । त्योभन्दा माथि केही पनि होइन यो व्याख्यात्मक घोषणा ।’
अध्यक्ष ओलीले आफ्नो पार्टीले सभामुख सापकोटाको राजीनामा पर्खेर बसेको बताए । उनले सभामुख सापकोटाले राजीनामा नदिए संसदमा महाअभियोग लगाउन सक्ने पनि बताए ।
तर, सभामुख सापकोटाको ससम्मान बर्हिगमन आफ्नो पार्टीले चाहेको अध्यक्ष ओलीको भनाइ थियो । 'हामी उहाँको राजीनामा पर्खिराखेका छौं । ससम्मान बर्हिगमन हुनुस् । ससम्मान हट्नुस् । कमसेकम संसदले निस्कासन गर्नुपर्यो भन्ने नहोस् भन्ने पनि हामीले सोचिराखेका छौं । उहाँका क्रियाकलाप अनुचित छ । तर त्यो अनुचित क्रियाकलापलाई सच्याउने वा के गर्ने विषयमा एमालेले उपयुक्त समयमा विचार गर्छ ।’
अध्यक्ष ओलीले संशोधनका कुरा गर्नेहरुले पनि यथास्थितिमा एमसीसी पास गरेको भन्दै आपत्ति जनाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।