काठमाडौं– कीर्तिपुरको त्रिवि मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल)मा पोखरा राइनोज काठमाडौं किग्स इलाभेनसँग पाँच विकेटले पराजित भएको छ । योसहित चारै खेल हारेको पोखराका लागि एक खेलअघि नै अघिल्लो चरणको यात्रा समाप्त भएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । १ सय ६६ रनको विजय लक्ष्य पछ्याएको काठमाडौंले ४ बल बाँकी छँदा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
जित दिलाउने क्रममा काठमाडौंका केभिन ओ ब्रायनले अर्धशतकीय पारी खेले । उनले ३५ बलमा ४ चौका र ३ छक्कासहित नटआउट ५४ रनको योगदान गरे ।
यस्तै, कप्तान रोहन मुस्तफाले ४०, सुवर्णमनीय आनन्दले २७ तथा सागर पुनले १८ रनको योगदान गरे ।
काठमाडौंका लागि ५ विकेट लिने क्रममा विक्रम सोवले २ तथा सुसन भारी र शक्ति गौचनले १–१ विकेट लिए ।
यसअघि पोखराले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटको रूपमा रिचर्ड लेभीलाई गुमाउँदा पोखराको स्कोर बोर्डमा ४३ रन थियो । लेभीलाई व्यक्तिगत ३८ रनमा रोहन मुस्तफाले आउट गरेका थिए । त्यसपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सुनील धमला ९ रन मात्रै जोडेर पेभिलियन फर्के ।
तेस्रो विकेटको रूपमा अर्का ओपनर कायल कोट्जर ३७ रनमा आउट हुँदा पोखराले १ सय ९ रन बनाएको थियो । त्यसपछि ब्याटिङमा आएका पल कोग्लिनले ३७ रनको योगदान गरे । यस्तै, पोखराका विनोद भण्डारीले १७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।
पोखराका लागि ६ विकेट लिने क्रममा काठमाडौंका केभिन ओ ब्रायन र विक्रमकुमार भुसालले २–२ विकेट लिए । यस्तै, रोहन मुस्तफा र संसद शेखले पनि समान १ विकेट लिए ।
इपिएलअन्तर्गत शनिबार पनि दुई खेल हुँदै छन् । भोलिको पहिलो खेल भैरहवा र काठमाडौंको बीचमा हुनेछ भने दोस्रो खेलमा चितवन र पोखरा आमने–सामने हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।